लाेकतान्त्रिक संस्थाका लागि सदस्यता, अधिवेशन र नेतृत्व चयन सामान्य प्रक्रिया मात्र हुनुपर्ने हाे । तर, देशकाे पुरानाे लाेकतान्त्रिक पार्टी नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न सकेन । ताेकिएका मिति तीन पटक सर्दासमेत महाधिवेशन हुनेमा अझै शंका छ ।
माउ पार्टीकाे राेग उसका भ्रातृ संगठनमा पनि उस्तै देखिन्छ । कांग्रेसका अधिकांश भ्रातृ संगठन लोकतन्त्रको ट्रयाक बाहिर घिस्रिरहेका छन् । पार्टी महाधिवेशनको क्रम चलिरहँदा माउपार्टीका जग भनिएका कुनै पनि भ्रातृसंस्थामा विधान अनुरूप अधिवेशन भएका छैनन् ।
भ्रातृसंस्थामा आबद्ध कार्यकर्ताले आफ्नो नेतृत्व छान्न नपाएकाे धेरै भइसक्याे । अधिवेशनबाट छानिनुपर्नेमा अधिकांश संगठनमा टिके नेतृत्व स्थापित गरिएकाे छ । नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण दल लगायतका भ्रातृसंगठन मातृ पार्टीका लागि संगठन विस्तारका नर्सरीजस्ता हुन् । भ्रातृ संगठनबाट आएका नेताहरू पार्टीमा स्थापित पनि छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघका संस्थापक सभापति हुन् । उनकाे नेतृत्वमा २०२८ सालमा नेविसंघ गठन भएकाे थियाे । अहिलेका चर्चित कांग्रेस नेताहरू विमलेन्द्र निधि, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल नेविसंघकाे नेतृत्व गरेरै आएका हुन् ।
कांग्रेसको हालकाे केन्द्रीय कार्यसमितिमा मात्रै नेविसंघका १३ जना पूर्वसभापति अटाएका छन् । ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र कल्याण गुरुङ नेविसंघका पूर्वसभापति हुन् ।
नेविसंघकै पुर्वपदाधिकारी रहेका डा. रामशरण महत, दिलबहादुर घर्ती, उमा रेग्मी, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, हृदयराम थानी, महेन्द्र यादव, डा. चन्द्र भण्डारी, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, गगन थापा, बद्री पाण्डे पनि कांग्रेसको केन्द्रीय नेतृत्वमा छन् ।
त्यस्तै, अन्य भ्रातृसंगठनको लहरो समाउँदै कांग्रेसको केन्द्रीय राजनीतिमा आएकाहरू पनि थुप्रै छन् । तर, हिजो जुन जगबाट नेताहरूको उदय भयो, आज त्यही जग ध्वस्त भइरहँदासमेत उनीहरूमा चिन्ताको भाव देखिन्न । बरु अधिकांश भ्रातृसंघठनमा टिके प्रवृत्ति धमाधम मौलाइरहेको छ । शक्तिमा हुनेले आफूनिकट कार्यकर्तालाई किस्तीमा राखेर संगठनको जिम्मेवारी दिइरहेकै छन् ।
संस्थापन इतर पक्षले पनि पार्टीभित्र सशक्त रूपमा यसको विरोध गर्न सकिरहेको छैन । उल्टै भागबन्डामा रमाइरहेका छन् । भ्रातृसंस्थाको गरिमा जोगाउने भन्दा पनि कसको कोटाबाट कसलाई छान्ने भन्नेमै नेताहरूको होडबाजी देखिन्छ । जुन लहरो समाएर नेताहरू माथिसम्म आए, आज त्यही लहरो काट्न उनीहरूको होडबाजी चलेकाे देखिन्छ ।
तदर्थवादमा भ्रातृ संगठन
माउपार्टी कांग्रेसकाे हस्तक्षेप र तदर्थवादको कारण नेविसंघ कमजोर बन्दै गएको छ । हाल नेविसंघको नेतृत्व गरिरहेका राजिव ढुंगानाको कार्यकाल पनि तीनपटक थपिइसक्यो । २०७७ माघ २९ गते बनाइएको ढुंगानाको तदर्थ समितिले तेस्रोपटक समय थपेर चलिरहेको अवस्था छ ।
पहिलोपटक समिति बन्दा अधिवेशन गराउन ६ महिनाको अवधि दिइएको थियो । तर, तीन-तीन पटक समय थपिँदासमेत उक्त समितिले अधिवेशन गराउन सकेको छैन । कुनै पनि क्याम्पसहरूमा नेविसंघको अधिवेशन हुन नसकेको स्थिति छ ।
त्यसाे त, विश्वप्रकाश शर्माको कार्यकालमा बाहेक नेविसंघको अधिवेशन कहिल्यै समयमा हुनसकेको छैन । ढुंगाना नेतृत्वको नेविसंघले न आजसम्म कमिटी विस्तार गर्नसकेको छ, न त अधिवेशन । बस्, समय थप्दै पद ओगट्दै ढुंगानाको कार्यकाल बितिरहेको छ ।
त्यसकाे दाेष पार्टी सभापति शेरबहादुर देउवालाइ जान्छ । संगठनमा उमेर हदबन्दी लागु हुनु पर्ने भन्दै रिले अनसनदेखि आमरण अनसनसम्म बसेका नेविसंघ नेता नवराज त्रिपाठीको टोलीलाई सुन्दै नसुनी ढुंगानालाइ सभापतिकाे टीका लगाइएकाे थियो ।
हाल भने संगठनभित्र दुईखाले बहस सतहमा रहेको नेविसंघकै एक पूर्वकेन्द्रीय सदस्यले शिलापत्रलाई बताए । एक, पार्टी अधिवेशनपछि नयाँ कमिटी आउने । दुई, यसैलाई पूर्णता दिएर नेविसंघको अधिवेशनमा जाने । तर, यी दुईमध्ये कुनले पार पाउने हो अहिले भन्न सकिने स्थिति छैन । ‘हामी जसरी पनि छिट्टै अधिवेशन गराउनुपर्याे भन्ने पक्षमा छौँ । अब यो कमिटी त्यो काम गर्न योग्य छ जस्तै लाग्दैन’, ती नेताले भने ।
तरुण दलमा पनि उस्तै
१० कात्तिक २०१० मा स्थापना भएको तरुण दलले पनि आजसम्म आइपुग्दा आफ्नै विधिपद्धति बिर्सदै गएको छ । याे यति भुत्ते भइसकेकाे छ कि नियमित अधिवेशनसमेत गराउन सकेकाे छैन । पछिल्लो समय ०७३ सालपछि यसको अधिवेशन हुनसकेको छैन । सो अधिवेशनमा निर्वाचित भएको जीतजंग बस्नेतको कमिटीको कार्यकाल दुईवर्ष अघि नै सकिइसकेको छ ।
संस्थापन इतर पक्षले उक्त कमिटीलाई अवैधानिक भएको आरोप लगाइरहेका छन् । तरुण दल पनि नेविसंघ झैँ तदर्थवादकै भरमा चलिरहेको छ । ‘नेताहरूको हस्तक्षेप, आफ्ना मान्छे मात्र बनाउने खराब नियतले भ्रातृसंगठनहरू लथालिंग अवस्थामा पुगेकाे तरूण दलका नेता भुपेन्द्रजंग शाही बताउँछन् । 'अधिवेशनभन्दा पनि भाग र कोटा खोज्नमै नेताहरू तल्लीन छन् । अनि कसरी हुन्छ ?’,शाही भन्छन्, ‘आफूलाई लाेकतान्त्रिक भन्ने पार्टीभित्रै अधिवेशन, चुनाव भन्ने कुरा बेवास्ता गरिनु दुखद हो ।’
दलित संघ अधिवेशन नभएकै १० वर्ष
अर्काे भ्रातृसंगठन नेपाल दलित संघमा पनि अधिवेशन नभएको १० वर्ष पुगेकाे छ । २३ फागुन २०६९ को अधिवेशनबाट सभापति बनेका मीन विश्वकर्माले आजसम्म महाअधिवेशन गराउन सकेका छैनन् । तीन वर्ष दलित संघ चलाउने जिम्मा पाएर चुनिएका विश्वकर्माले १० वर्ष पुग्नै लाग्दा पनि संघको चुनाव नगराइ बसेका छन् ।
संघभित्रका संस्थापन इतर पक्षले भने विश्वकर्माले आफू हार्ने जोखिम देखेपछि अधिवेशन नगराएको आरोप लगाएकाे छ । आफ्नो नेतृत्व गुम्ने डरले विश्वकर्माले दलित संघको अधिवेशन नगराएको आरोप उनीमाथि छ ।
यसबीचमा सबै जिल्ला तहमा अधिवेशन भएको पनि ४–५ वर्ष भइसकेकाे छ । कुनै महाधिवेशन प्रतिनिधिमा विवाद पनि थिएन । तैपनि, महाधिवेशन नगरिएकाे दलित संघका एक नेता बताउँछन् । ‘पार्टीभित्र सबैभन्दा धेरै विधिपद्धतिको कुरा मीनजीले नै गर्नुहुन्छ । विधिको कुरा गर्ने उहाँलाई यता अधिवेशन गर्न नसकेकोमा लाज लाग्दैन ? आफ्नो नेतृत्व गुम्ने डर छ भन्दैमा संघको विधान नै मिच्दिने ?’, उनले भने ।
महिला संघमा दुईपटक म्याद थपियाे
०७३ सालमा काठमाडौं भृकुटीमण्डपको अधिवेशनबाट चुनिएकी उमा रेग्मीको कार्यकाल एकवर्ष अगाडि नै सकिइसकेको थियो । यसबीचमा उक्त कमिटीले २ पटक आफ्नो कार्यकाल थप गरिसकेको छ ।
कोरोना महामारी र कांग्रेसकै महाधिवेशन आएकोले समयमा अधिवेशन गर्न नसकेको महिला संघकी नेतृ धना खतिवडाले बताइन् । यसअघि ६–६ महिना समय थपिसकेको उक्त समितीले अब बस्ने २८ कात्तिकको बैठकबाट फेरि अर्कोपटकको लागि समय थप्ने सम्भावना रहेको उनले बताइन् ।
किसान संघमा १४ वर्षदेखि एउटै कमिटी
नेपाल किसान संघले अधिवेशन नगरेकै १४ वर्ष कटिसकेको छ । १४ वर्ष अगाडि सप्तरीमा भएको अधिवेशनबाट बासुशरण कोइराला सभापति चुनिएपछि यसको अधिवेशन हुनसकेको छैन । निर्वाचित कमिटीले ३ वर्षमै अधिवेशन गराउनुपर्ने नियम रहे पनि हालसम्म काेइरालाको कमिटीले अधिवेशन गराउने छाँटकाट देखाएको छैन ।
प्रेस युनियन पनि उही बाटाेमा
शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको अधिवेशन नभएको ७ वर्ष भइसकेको छ । २०७१ सालमा पोखरामा सम्पन्न अधिवेशनबाट निर्वाचित बद्री सिग्देल नेतृत्वकाे कमिटीले अर्काे अधिवेशन गराउन सकेकाे छैन । अधिवेशनको मिति पटक-पटक तोकिए पनि विभिन्न बहानामा अधिवेशन हुननसकेको हो । विधानअनुसार, तीन/तीन वर्षमा प्रेस युनियनको अधिवेशन हुनुपर्ने हो । तर, ७ वर्ष हुँदा पनि प्रेस युनियनले अधिवेशन गराउन नसकेको हाे । बरु, ३ वर्ष पूरा भएपछि केन्द्रीय समितीले निर्णय गरी आफ्नै कार्यकाल थपेकाे थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८ ०८:५६