चिसोको मौसम सुरु भएको छ । योसँगै शरीरका जोर्नी सुन्निने तथा दुख्ने समस्याले हामीलाई अझ बढी सताउन सक्छ । त्यसो त जोर्नी दुख्ने समस्या अरु समयमा पनि देखापर्न सक्छ । यसको एउटा कारण शरीरमा युरिक एसिडको मात्रा बढ्नु पनि हुन सक्छ ।
हामीले खाने प्रोटिनयुक्त खानेकुराहरूमा ‘प्युरिन’ भन्ने प्राङ्गारिक यौगिक पाइन्छ । खानाको पाचन हुँदै गर्दा शरीरले यो रसायनलाई पनि टुक्र्याइदिने प्रक्रियामा युरिक एसिड पैदा हुने गर्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, नाइट्रोजन र अक्सिजन गरी चार तत्त्व मिलेर बनेको हुन्छ । युरिक एसिडको मात्रा थोरै उत्पादन हुँदा यो सजिलै रगतमा मिसिन्छ, मिर्गौलामा पुग्छ र पिसाब मार्फत बाहिर निस्कन्छ । तर, जब हामीले बढी युरिक एसिड उत्पन्न हुने खानेकुरा खान्छौँ, त्यसपछि युरिक एसिड मिर्गौलाबाट बाहिर जान सक्दैन । रगतमा यो एसिडको मात्रा बढी हुने अवस्थालाई ‘हाइपरयुरिसेमिया’ भनिन्छ ।
राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रमोद जोशीका अनुसार रगतमा ४ देखि ८.५ मिलिग्राम/डेसिलिटर पुरुषमा र महिलामा २.५ देखि ७ मिलिग्राम/डेसिलिटर युरिक एसिडको मात्रालाई सामान्य नै मानिन्छ । यसको मात्रा ७ मिलिग्राम/डेसिलिटर कट्यो भने युरिक एसिड बढेको मानिन्छ ।
‘यो अवस्था सिर्जना भएपछि रगतमा युरिक अम्लका ‘क्रिष्टल’ अर्थात् मणिभ बन्छन् र जोर्नीहरूमा पुगेर जम्मा हुन्छन् । यी क्रिष्टल शरीरको बढी चिसो हुने भाग जस्तै; हातखुट्टाका बुढीऔँला, गोली गाँठा, कुहिनो, घुँडाजस्ता भागमा जम्मा हुन्छन् । फलस्वरुप यी भाग सुन्निले, रातो हुने र दुख्ने हुन्छन्,’ डा.जोसी भन्छन् ।
यस अवस्थालाई ‘गाउट’ अथवा युरिक एसिड बढेको वा वाथ रोग भनिन्छ ।
युरिक एसिड बढेपछि देखिने लक्षणः
- पहिलो लक्षणका रूपमा जोर्नीहरू सुन्निने, रातो हुने र दुखाइ हुन्छ । दुखाइ अक्सर बिहानीपखबाट सुरु हुन्छ र विस्तारै चर्को हुन्छ ।
- यसको आक्रमण अक्सर खुट्टाको बुढीऔँलाका जोर्नीमा हुन्छ र टेक्नै नसकिने हुन्छ । यो बुढीऔँलाबाहेक हातका अन्य कुनै औँलाका, कुहिनो, गोलीगाँठो, घुँडामा पनि हुन सक्छ ।
- १०० डिग्रीमाथि ज्वरो आउँछ ।
- यसको दुखाइ कम्तीमा चार दिनदेखि एक हप्तासम्म रहन्छ । तर, खानपान नियन्त्रण नगरे दुखाइ लामो समयसम्म रहन्छ । शरीरका अन्य अंगहरूमा असर गर्न सुरु गर्छ ।
- यो समस्या पहिलो चरणमा रहेसम्म निको हुन सरल हुन्छ । तर, समस्या भएपछि पनि खानपानमा ध्यान नदिए समस्या बढ्दै जान्छ ।
- सुरुसुरुमा यसको लक्षण जाडोमा हुन्छ तर खानपान नमिलेमा जुनसुकै बेला पनि हुन्छ ।
युरिक एसिड बढ्नुको कारण
प्युरिनयुक्त खानेकुरा बढी खानु यस रोगको प्रमुख कारण हो । प्युरिन विभिन्न प्रोटिनयुक्त खानेकुरामा पाइन्छ जस्तै:
- माछा-मासु । विशेष गरी रातो मासु, कलेजो ।
- दुईदलीय गेडागडी जस्तै: भटमास, दाल, चना, केराउ, राज्मा आदि ।
- दूध र दुग्धजन्य परिकार तथा मिठाई ।
- च्याउको बढी सेवन ।
- अल्कोहलयुक्त पेय पदार्थ ।
- खेतबारीमा प्रयोग गरिने पेस्टिसाइड्ससँगको सम्पर्क ।
यसका अन्य कारणहरू
- पानी कम पिउनुः पानीले युरिक एसिडलाई पिसाबमार्फत बाहिर फाल्ने काम गर्छ । त्यसैले पानी कम पिउँदा एसिडको मात्रा रगतमा बढ्न जान्छ ।
- मोटोपना अर्थात् शरीरको तौल बढी हुनु ।
- मिर्गौलाको क्षमता कमजोर हुँदा पनि पर्याप्त मात्रामा युरिक एसिड बाहिर निस्कँदैन ।
- व्यायाम तथा योगाको कमी ।
के खाने ?
रक्तअम्लकारी आहार बढी खानाले यो समस्या हुन्छ । तसर्थ युरिक एसिड बढेका बेला ती आहार बन्द गरी छोक्राबोक्रा र रेसासहितका प्राकृतिक आहार सेवन गर्नुपर्छ ।
प्रशोधन नगरिएका वा कम प्रशोधित आहार जस्तै; खैरो चामलको भात, मकै, फापर, गहुँ, कोदोजस्ता पूर्ण अन्नहरू । हरिया सागपात, हरियो सिमी, हरियो बोडी, हरियो लसुन, हरियो प्याज, ब्रोकाउली, घिरौँला, पाटे घिरौँला, करेला, गाजर, गाजरपत्तालगायत ताजा हरिया तरकारीहरू । प्राकृतिक रूपमै पाकेका गुलिया फलफूल ।
कसरी बच्ने ?
- माथि उल्लेख गरिएका प्युरिनयुक्त खानाको सेवन कम गर्ने र उचित आहारको सेवन गर्ने ।
- प्रशस्त मात्रामा पानी पिउने ।
- नियमित व्यायाम तथा योगा गर्ने ।
- जोर्नीहरू दुख्दा बरफ लगाउने ।
- चिन्तामुक्त जीवन जिउने ।
युरिक एसिड बढ्ने लक्षण पहिलो चरण हो । प्रारम्भिक अवस्थामा गरिएको उपचारले बढी समस्या निम्तनबाट रोक्छ । डाक्टरहरूका अनुसार जोर्नीहरू दुखेर खप्नै गाह्रो भएपछि मात्र बिरामीहरू अस्पताल पुग्ने गर्छन् । त्यसअघि खानपान र जीवनपद्धतिको उचित व्यवस्थापनले यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८ ०९:०४