कांग्रेसभित्र रणनीतिक नेताको छवि बनाएका कृष्णप्रसाद सिटौलाले महाधिवेशनमा युवाहरूलाई अघि बढाउने रणनीति अघि सारेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रदीप पौडेलको नेतृत्वमा आफ्नो समूह अघि बढ्ने सन्देश दिए ।
सिटौलालाई आफ्नो समूहमा तान्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संवाद गरिरहेका छन् । उनले सहकार्यको खाका प्रस्तुत गर्न दुबै नेतालाई भनेका थिए । बिहीबार सिटौलाले प्रस्तुत गरेको रणनीतिअनुसार सहकार्यको खाका ल्याउँदा दुबै पक्षले अब प्रदीप पौडेलको उचित व्यवस्थापन गर्नुपर्नेछ ।
सिटौलाले आफ्नो अभाव र संकटमा समेत पौडेलसँगै रहेको र कांग्रेसमा युवा नेतृत्वको खाँचो रहेकाले त्यसमा पौडेलाई अघि बढाउने घोषणा गरे । ‘मेरो तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मा प्रदीप पौडेललाई दिनेछु । म युवाहरूलाई अघि बडाउन चाहन्छु,' सिटौलाले भने, ‘हाम्रो उमेर धेरै भइसक्यो अब छोराहरूको पालो ।’
१४औँ महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा पौडेलले गरिसकेका छन् । सिटौलासँग सहकार्य गर्न चाहनेले टिमबाट महामन्त्रीमा उनलाई अब उठाउनै पर्ने भएको छ । सिटौलाले आफूले जसलाई समर्थन जनायो त्यही पक्ष संस्थापन बन्ने उद्घोष गरेका छन् । ‘म जहाँ रहन्छु त्यहीँबाट कांग्रेसभित्रको एकता प्रारम्भ हुन्छ,’ उनले भने ।
आफ्नो यो उद्घोषलाई घमण्ड नठान्न सिटौलाले आग्रह गरेका छन् ।
सिटौलालाई कांग्रेसभित्र तेस्रो धारको शशक्त अस्तित्व देखिने गरी निर्णय लिन उनीनिकट जिल्ला सभापतिहरूको दबाब छ । ‘हाम्रो समूहको अस्तिव जोगिने गरीमात्र सहकार्य गर्न म सिटौलाजीलाई आग्रह गर्दछु,’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ कांग्रेसका सभापति उद्धव थापाले भने ।
त्यही दबाबकै कारण सिटौलाले सहकार्यका निम्ती केन्द्रीय समितिमा आफू पक्षका २० जनाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सर्त अघि सारेका छन् । यो समूहबाट नेता पौडेल, उमाकान्त चौधरी, उद्धव थापा, सुधीर शिवाकोटी, शिवप्रसाद हुमागाईं बढी चर्चित छन् । सिटौला कम्तीमा पौडेल र चौधरीलाई पदाधिकारीसहित आफूनिकट अन्य नेतालाई केन्द्रीय समितिमा सुनिश्चित गर्न चाहन्छन् । ‘कम्तीमा पनि २० जना नेताहरूको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी उहाँमा छ,’ शिलापत्रसँग कुरा गर्दै सिटौलानिकट नेता भिमसेनदास प्रधानले भने ।
अस्तित्व प्रभावशाली बनाउन कार्यकर्ताको दबाब
१३औँ महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका सिटौलाले यसपटक पनि उनैलाई साथ दिन खोजेको भन्दै सिटौलानिकट कार्यकर्ताले असन्तुष्टि पनि पोखेका छन् । अधिकांश कार्यकर्ताले भने आफ्नो अस्तित्व अझै प्रभावशाली हुनेगरी सहकार्य गर्न सिटौलालाई दबाब दिएका छन् । जिल्लामा सत्ता र शक्तिको दुरुपयोग गर्दै आफूहरूको अस्तित्व मेटाउन प्रयासरत देउवा पक्षसँग भिड्नुपर्ने अवस्था आएकाले केन्द्रमा नेतृत्वले कुम जोड्दा कार्यकर्ताको मनोबल गिर्ने कतिपयको तर्क छ ।
‘जिल्लामा आफ्नो समूहको अस्तित्व जोगाउन हामी लड्यौँ । शक्ति र सत्ताको दुरुपयोग हुँदा हामीले पराजय बेहोर्नुपर्यो । अहिले उनै देउवासँग कुम जोड्नुपर्ने बाध्यता के छ ?’ गोर्खाका रमेश बास्ताकोटी बताउँछन् । उनी टिममा नपरेकै कारण प्रदेश सदस्यमा चुनावसमेत लड्न पाएका थिएनन् ।
त्यस्तै महाधिवेशन प्रतिनिधिसमेत रहेका उत्तम चापागाईं सिटौलाले आफ्नो समूहको अस्तित्व जोगाउने गरी निर्णय लिनुपर्ने बताउँछन् । तेस्रो खेमाको अस्तित्व नमासिने गरी सहकार्य गर्नुपर्ने उनको मत छ । ‘आफ्नो अस्तित्व रक्षा गर्ने गरी निर्णय गर्नुपर्छ । सिटौलाले कार्यकर्तालाई निराश नबनाउने गरी सचेत भएर निर्णय लिन आवश्यक छ,’ उनले भने ।
सिटौलानिकट मानिने कांग्रेस नेता तारामान गुरुङ पनि कार्यकर्ताको भावना बुझेर मात्र निर्णय लिन आग्रह गर्छन् । गुटबन्दीले कार्यकर्तालाई अन्यौल बनाउने भन्दै तत्काल निर्णय लिनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘गुटबन्दीले सही नेतृत्व आउने देखिँदैन । नेताहरूले विवाद गर्दा कार्यकर्ता अन्यौलमा राख्नु हुँदैन । यो अन्यौलताबाट कार्यकर्तालाई नेतृत्वले तत्काल मुक्त बनाउन आवश्यक छ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८ २०:२७