कांग्रेसको १४औँ महाधिवेशन उद्घाटनसत्रले काठमाडौंको भृकुटीमण्डप तातेको थियो । देशका विभिन्न भूभागबाट आएका नेता/कार्यकर्ता मत माग्न व्यस्त देखिन्थे । औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघिबाटै कार्यकर्ताहरू आफ्नो नेताको समर्थनमा नाराबाजी गरिरहेका थिए ।
कांग्रेसभित्र ‘सेलेब्रिटी’ नेताको रूपमा कहलिएका गगन थापादेखि पार्टीसभापति शेरबहादुर देउवासम्मको समर्थनमा कार्यकर्ताका जुलुस देखिए । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जिल्ला तहका नेताहरूसमेत भोट माग्न व्यस्त थिए । ‘गगन थापा जिन्दावाद’ देखि ‘मेची काली के भन्छ– शेरबहादुर देउवा ले भन्छ’ भन्नेसम्मका आवाज उद्घाटनसत्रमा सुनिए ।
स्थानीय संस्कृति झल्कने पोशाकमा सजिएका कार्यकर्ताहरूको पनि मत माग्ने आफ्नै तरिका थिए । उनीहरू कतै बाजागाजा बजाएर नाचगान गरिरहेका थिए त कतै एउटै पोशाकमा सजिएर जुलुस निकालिरहेका थिए । विशेषगरी सुदूरपश्चिम भेगका कार्यकर्ताले आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोशाक लगाएर स्थानीय भाकाकै गीतहरू गाएर नेताहरूको प्रचार गरिरहे ।

यसरी कांग्रेस महाधिवेशनमा सहभागी हुन आउनेहरूमा अपांगता भएका प्रतिनिधिदेखि काखे बच्चा च्यापेर आउनेसम्म थिए । जस्तो, कंचनपुरदेखि दुई दिनको यात्रा गरेर महाधिवेशनमा सहभागी हुन आएकी पुनम शाह आफ्नो छोरालाई दूध चुसाउँदै कार्यक्रम हेरिरहेकी थिइन् । अन्य कार्यकर्तामा भन्दा कम्ती चाख उनमा थिएन । त्यसैले पनि उनी देशकै पश्चिम कुनोबाट कांग्रेस महाधिवेशनमा भाग लिन उनी मध्य काठमाडौंसम्म आइन् ।

‘म महाधिवेशन प्रतिनिधि त होइन, क्षेत्रीय प्रतिनिधिचाहिँ जितेकी थिएँ । कांग्रेसको माया र राजनीतिप्रति रस बसेकैले यहाँसम्म हेर्न आएँ’, पुनमले शिलापत्रसँग भनिन्, ‘अब आएको बेला काठमाडौंमा अन्य काम सकेर फर्कन्छु होला । जेहोस्, देउवालाई जिताएरै फर्कन्छु ।’
भौगोलिक रूपमा एकै भेग(पश्चिम)को भएकाले पनि देउवालाई जिताउने इच्छा रहेको पुनमले बताइन् । उनका अनुसार कञ्चनपुरको बेतकोट क्षेत्र नं. २ बाट क्षेत्रीय प्रतिनिधि चुनिएकी थिइन् । जिल्लाबाट पार्टीले गाडी रिजर्भ गरेकाले पनि नानी च्यापेर आउन सहज नै भएको उनको अनुभव छ । एक रात झलारी भन्ने ठाउँमा बास बसेरै काठमाडौंमा महाधिवेशन सफल बनाउन आएकी छिन्, उनी ।
त्यस्तै, उद्घाटनसत्रमा अपांगता भएका प्रतिनिधि तथा कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । पार्टी कार्यालयको गेटैमा अनशन बसेर आफ्ना मुद्दा स्थापित गराउन सफल उनीहरू जोसजाँगरका साथ भृकुटीमण्डपमा देखिए । स्मरण रहोस्, केही समयअघि समावेशिताको मुद्दालाई लिएर पार्टी मुख्यालयमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघ अनशन नै बस्नुपरेको थियो ।
महाधिवेशनको उद्घाटनस्थलमा नुवाकोटका अक्कलबहादुर तामाङ, झापाका धर्मराज थापा र सोलुखुम्बुका सूर्यबहादुर बस्नेत भेटिए । ‘ह्विल चेयर’को सहारामा दौडिएका उनीहरूमा पनि राजनीतिमा कसरी स्थापित हुने भन्ने हुटहुटी अरुमा भन्दा कम थिएन ।
अपांगताको आरक्षणमा प्रतिनिधि छानिएका उनीहरू केन्द्रमा पनि आफ्नो प्रतिनिधित्व हुनुपर्ने कुरामा सचेत देखिन्छन् । ‘हामीले यस्तो अवस्थामा पनि पार्टीलाई योगदान दिएका छौँ’, अक्कलबहादुर तामाङले भने, ’पार्टीले पनि हाम्रो योगदानको कदर गर्नुपर्छ ।’
त्यस्तै, महाधिवेशनमा ७७ वटै जिल्लाबाट अपांगता भएका प्रतिनिधि आएको उनीहरू बताउँछन् । तर, महाधिवेशन उद्घाटनस्थलमा भने अपांगता भएका प्रतिनिधिका लागि आवातजावत गर्न सहज व्यवस्था थिएन । भिडभाडमा ह्विल चेयर गुडाउन, होटलमा बस्न सहज नभएको उनीहरूको भनाइ छ ।
‘हाम्रो लागि यहीँ आउन पनि सहज बाटोको व्यवस्था छैन, विधानमा लेख्दिएर मात्र सबै काम हुन्छ ?’, सोलुखुम्बुका सूर्यबहादुर बस्नेतले भने ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ १९:३१