विद्यार्थीहरू निरन्तर आन्दोलित बनेपछि त्रिभुवन विश्वविद्यालयले केही समयअघि भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकालाई समकक्षता दिने निर्णय गर्यो । जसका लागि विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था त्रिविले गरेको थियो ।
त्रिविको उक्त सूचनापछि विद्यार्थीले आवेदन फारम भरे । पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा. डा. पारसनाथ यादवले त प्रत्यक्ष भेटमा अनलाइनमार्फत आवेदन दिएपछि समकक्षता मिल्नेमा आश्वस्त पारेको विद्यार्थीहरूको दाबी छ ।
‘तर, अनलाइन फारम भरेपछि पनि लामो समय कुनै प्रतिक्रिया पाइएन । त्रिविमा सम्पर्क गर्दा पारस सरले ४००० आवेदन रहेको र जनशक्ति अभाव भएकाले भेरिफाई गर्न नसकिएको जानकारी दिनुभयो,’ विद्यार्थी सुदन महतले भने, ‘उहाँको प्राविधिक तर्कलाई हामीले सहजै लियौँ र प्रतीक्षा गरिरह्यौँ । तर, आजसम्म समकक्षता पाइएको छैन ।’
विद्यार्थीलाई त्रिविको जवाफ ।भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट आएका विद्यार्थीले ‘क्यारेक्टर सर्टिफिकेट’ नबुझाएको भन्दै त्रिविले समकक्षता दिन मानेन । जबकि इग्नु र अन्य खुल्ला विश्वविद्यालयमा ‘क्यारेक्टर सर्टिफिकेट’ दिने प्रचलन छैन । हुँदै नभएको क्यारेक्टर सर्टिफिकेट मागेर त्रिविले हैरानी मात्र दिएको विद्यार्थीको आरोप छ ।

यता नेपालमै रहेका ‘इग्नु’को शाखामा अध्ययन गरेका विद्यार्थीले भने समकक्षता लिइरहेका छन् । ‘अब नेपालकै इग्नुका सेन्टरमा अध्ययन गरेकाले क्यारेक्टर नै इस्यु गराएर समकक्षता लिइरहेको भन्ने छ । अब हामीले चाहिँ नभएको कुरा कहाँबाट खोजेर ल्याउने ?’, महतले शिलापत्रसँग भने ।
त्रिविले ‘क्यारेक्टर सर्टिफिकेट’ नभई समकक्षता नदिने भनेपछि विद्यार्थीहरूले इन्दिरा गान्धी खुला विश्वविद्यालयमै सम्पर्क गरे । जवाफमा इग्नुले क्यारेक्टर सर्टिफिकट दिने आफूहरूको प्रचलन नरहेको बतायो । विद्यार्थीहरूलाई इमेलमार्फत इग्नुले सो जानकारी दिएको हो । त्रिविले इग्नुको ‘मेल’ पाएर पनि बेवास्ता गरेको विद्यार्थीको आरोप छ ।

तत्काल त्रिविले समकक्षता दिने विषयमा ठोस निर्णय नगरे आमरण अनशनमा जाने विद्यार्थीले चेतावनी दिएका छन् ।
इग्नु पढेर फर्किएका विद्यार्थीहरूलाई दिँदै आएको समकक्षता त्रिविले सन् २०१८ देखि बन्द गराएको थियो । बिनाकुनै पूर्वसूचना हठात् समकक्षता दिन बन्द गर्दा करिब ५/६ सय विद्यार्थी मारमा परेको विद्यार्थी सुदन महतले बताए ।
इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एकवर्षे बीकम (लेखा र वित्त) र एकवर्षे एमकम (वित्त र कर) पढ्न सकिने व्यवस्था सीएको बोर्ड (आईसीएआई) ले गरेको छ । जसअनुसार विद्यार्थीहरू सीए इन्टर र ३ वर्षे ट्रेनिङ सकेर एकवर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातक डिग्री हासिल गर्न सक्छन् । सीए भएकाले एकवर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातकोत्तर डिग्री हासिल गर्छन् ।
तर, त्रिभुवन विश्वविद्यालयले सीए र इन्दिरा गान्धी विश्वविद्यालयबाट पढेर आएकालाई समकक्षता दिन नमिल्ने भन्दै त्रिविले उच्च शिक्षा लिन बाधा पुर्याएको विद्यार्थीहरू बताउँछन् ।
हामीले प्रक्रिया रोकेका छैनौँ, विद्यार्थीले पूरा कागजपत्र बुझाउनुपर्यो : त्रिवि
विद्यार्थीले पूरा कागजपत्र बुझाएको अवस्थामा त्रिविले समकक्षता दिने प्रक्रिया नरोकेको बताउँछन्, शिक्षाध्यक्ष शिवलाल भुसाल । भारतबाट आएका विद्यार्थीले क्यारेक्टर सर्टिफिकेट वा त्यहाँ पढेको आधार पेस नगरेकाले उनीहरूले समकक्षता नपाएको उनले बताए ।
‘इग्नुले क्यारेक्टर नै दिँदैन भने पनि अरु केही आधारहरू चाहियो । सिफारिसहरू जे भए पनि हुन्छ । अब नियममै सर्टिफिकेट हुनुपर्नेछ । त्यसै कहाँ समकक्षता पाइन्छ त अनि ?,’ भुसालले भने ।
त्यस्तै, पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा. डा. पारसनाथ यादव त्रिविको नियममै क्यारेक्टर अनिवार्य चाहिने भएकाले समस्या आएको बताउँछन् । विद्यार्थीले क्यारेक्टर वा सोसरहका अन्य कागजपत्र नबुझाएकाले समकक्षता नपाएको उनले बताए ।
‘इग्नुबाट आएकाले आफू कुन सेन्टरमा पढेका हुन्, त्यो कागजपत्र पेस गर्नुपर्यो नि । क्यारेक्टर नै त दिएन रे, अरु केही त हुन्छ नि जसले विद्यार्थी त्यहाँ पढेको आधार देओस्’, उनले भने ।
यद्यपि विद्यार्थीले केही ल्याउन नसकेको अवस्थामा त्रिविले नै इग्नुसँग कुरा गरेर समाधानको बाटो निकाल्ने यादव बताउँछन् । ‘अब विद्यार्थीले केही ल्याउन सकेनन् भने हामीले पनि इग्नुसँग सम्पर्क गर्छौं । नत्र त्रिविकै नियम संशोधन गर्न लबिङ गर्छौं,' उनले भने, ‘तर, दबाब आयो रे भन्दैमा त्रिविले आलोकाँचो काम गर्दैन । बरु केही विकल्प खोज्न सकिन्छ ।’
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ ०७:०५