आठ वर्षअघि एक जना शिक्षकले सुरु गरेको 'पढ्दै कमाउँदै' कार्यक्रमलाई शिक्षा मन्त्रालयले अघि बढाएको छ । बर्दियाका नारायण सिग्देलले सुरु गरेको कार्यक्रमलाई देशभरका विभिन्न स्कुलमा विस्तार गर्ने योजनासहित मन्त्रालयले अघि बढाएको हो । जसको कार्यविधि मन्त्रालयले तयार पारिसकेको छ ।
सिग्देल आफैँले पहल गरेपछि यो अभियानमा मन्त्रालयको चासो देखाएको थियो । र, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको कार्यविधि बनाउन मन्त्रालयले उनलाई सिंहदरबार बोलाएको थियो । केही समयअघिसम्म सिग्देल दैनिकजसो सिंहदरबार धाइरहेका भेटिन्थे ।
कार्यविधि बनाउनुअघि नमूना विद्यालय कस्तो बनाउने भनेर सिंहदरबारमा दैनिकजसो छलफल चलिरहेको हुन्थ्यो । त्यस्ता छलफलमा नछुट्ने पात्र थिए, सिग्देल ।

उनी आफैँले सुर्खेतको बराहतालमा जनज्योति माध्यमिक विद्यालयमा 'पढ्दै कमाउँदै' कार्यक्रमको सफल प्रयोग गरिसकेका छन् । उनको स्कुलमा यो कार्यक्रमले आठ वर्षदेखि निरन्तर गति लिइरहेको छ, जसलाई थप उन्नत बनाउन उनी निरन्तर सक्रिय छन् । विभिन्न स्कुलमा यसबारे तालिम दिँदै हिँडिरहेको उनी बताउँछन् ।
‘मैले सुरु गरेको अभियानलाई सरकारले नै अघि बढाउँदा खुसी छु । कार्यविधि त राम्रै बनेको छ,’ सिग्देल भन्छन्, ‘अब योजना अनुरुप शैक्षिक सामग्री र स्रोतसाधन विद्यार्थीलाई उपलब्ध गराएर कार्यान्वयन गरे राम्रो हुन्छ, नत्र कार्यविधिले मात्र केही हुँदैन ।’
कार्यविधिमा के छ ?
शिक्षा मन्त्रालयले 'पढ्दै कमाउँदै' कार्यक्रम सञ्चालन कार्यविधि-२०७८ जारी गरेको छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी सीपयुक्त एवं स्वावलम्बी नागरिक बन्न सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यविधि जारी भएको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार स्वआर्जन गरी अध्ययन गर्न इच्छुक विद्यार्थीलाई अतिरिक्त आयमूलक काम गरी पढ्न पाउने वातावरण तयार गर्न कार्यविधि बनाइएको हो । जसका लागि विद्यालयले आवश्यक उपकरण र पूर्वाधार निर्माण गरेको हुनुपर्नेछ । त्यस्तै विद्यार्थीद्वारा उत्पादन भएका खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तुलाई विद्यालयमा दिवा खाजामा उपयोग गर्न तथा स्थानीय बजारमा बिक्री वितरणको उपयुक्त वातावरण विद्यालयले तयार गरिदिनुपर्ने व्यवस्था कार्यविधिमा छ ।
‘विद्यालयमा उत्पादन तथा सेवा इकाईको स्थापना गरी सो इकाईलाई शिक्षक प्रशिक्षक एवं विद्यार्थी सहभागितामा सञ्चालन गरी आयआर्जनको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ ।
विद्यालयले पाठ्यक्रममा आधारित हुनेगरी शिक्षण सिकाइसँगै वस्तु तथा सेवाको उत्पादनमा विद्यार्थीहरूलाई संलग्न गराउनुपर्नेछ । श्रमप्रति सचेतना बढाएर विद्यार्थीलाई स्वरोजगार र उद्यमशील हुन प्रोत्साहित गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
'पढ्दै पढाउँदै' कार्यक्रम सञ्चालनका लागि मुलुकभरका सामुदायिक विद्यालयबाट केही सीमित विद्यालय छनोट हुनेछन् । उक्त कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित हुनेछ ।
यसरी हुनेछ विद्यालय छनोट
'पढ्दै कमाउँदै' कार्यक्रम सञ्चालन गर्ने विद्यालय छनोटका लागि सरकारले राष्ट्रिय दैनिक पत्रिकामा कम्तिमा १५ दिनको म्याद दिएर प्रस्ताव पेस गर्न सूचाना प्रकाशन गर्नेछ । सोही सूचनालाई आधार मानेर विद्यालयले आवेदन दिनुपर्नेछ । छनोटमा पर्न विद्यालयले निम्नबमोजिम योग्यता पूरा गरेको हुनुपर्नेछ :
- कार्यक्रम सञ्चालनका लागि प्रचलित कानुनबमोजिम निर्धारित न्यूनतम विद्यार्थी संख्या पूरा भएको हुनुपर्ने ।
- सम्बन्धित स्थानीय तहले लागत साझेदारी गर्न प्रतिबद्धता पत्र उपलब्ध गराएको हुनुपर्नेछ ।
- कार्यक्रम सञ्चालनका लागि शिक्षण सिकाइका लागि आवश्यक पर्ने जग्गा तथा अन्य पूर्वाधार पूरा भएको हुनुपर्नेछ।
- स्थानीय हावापानी र भूगोल अनुरुप हुनेगरी वस्तु तथा सेवा उत्पादनका लागि कार्यक्रम प्रस्ताव भएको हुनुपर्नेछ ।
योग्यता पुगेका विद्यालयलाई मन्त्रालयले बनाएको छनोट समितिले छनोट गर्नेछन् । समितिले छनोट गर्दा केन्द्रबाट सिफारिस भएका विद्यालयमध्येबाट शहरी क्षेत्रमा ‘सेवा’ र ग्रामीण क्षेत्रमा ‘कृषि’लाई प्राथमिकतामा राखेर योजना वितरण गर्नुपर्नेछ । यसरी विद्यालय छनोट भएको जानकारी सम्बन्धित स्थानीय तहलाई पठाउँछ ।
छनोट भएका विद्यालयमा अनुदान रकमको निर्धारण गर्दा स्वीकृत बजेट, विद्यालयमा सञ्चालन हुने कार्यक्रमको प्रकृति तथा कार्यक्रम संख्यालाई आधार मान्नुपर्ने कार्यविधिमा उल्लेख छ । साथै कार्यक्रममा सहभागी हुने विद्यार्थी संख्या र विद्यालयको आवश्यकता समेतलाई समितिले ध्यान दिनुपर्नेछ ।
‘कार्यक्रम सञ्चालनका लागि छनोट भएका विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सुरुमा ५० प्रतिशत रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण गरिनेछ । बाँकी रकम विद्यालयको कार्यप्रगतिका आधारमा उपलब्ध गराइनेछ,’ कार्यविधिमा भनिएको छ ।
यी हुन् कार्यक्रम सञ्चालन हुने क्षेत्र
'पढ्दै कमाउँदै' कार्यक्रम सञ्चालनका लागि विभिन्न क्षेत्र तोकिएका छन् । विद्यालयले आवश्यकता अनुकूल विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । जसका लागि निम्न क्षेत्र तोकिएका छन् :
- कृषि (बाली विज्ञान, पशु विज्ञान, बागवानी)
- इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल, कम्प्युटर)
- पर्यटन तथा हस्पिटालिटी
- वन तथा वातावरण
- निर्माण
- अटोमोबाइल
- व्यवसायिक किट (मौरी पालन, च्याउ र रेसम खेती)
- अन्य
विद्यालयको भूमिका
विद्यालयको साथमा पाएमात्रै 'पढ्दै कमाउँदै' कार्यक्रम सफल बन्ने मन्त्रालयको भनाइ छ । विद्यालयको केही भूमिकाबारे कार्यविधिमा उल्लेख गरिएको छ । जस्तो,
- विद्यार्थीले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य पदार्थ र अन्य वस्तु तथा सेवालाई दिवा खाजाको रूपमा विद्यालयमा उपयोग गर्ने वा स्थानीय बजारमा बिक्री वितरण गर्न स्थानीय व्यवसायीहरूसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।
- विद्यार्थीले गरेको आम्दानीको निश्चित अंशबाट कोषवृद्धि योजना बनाई लागू गर्नुपर्नेछ ।
- व्यवसाय सुरुवात गर्न विद्यार्थीलाई तालिम सञ्चालन गर्नुपर्ने ।
- खरिद बिक्री केन्द्र स्थापनाका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्ने, आदि ।
यो पनि पढ्नुस् :
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८ १७:४६