नवलपरासीको हुम्सेकोट गाउँपालिका- ६ मा रहेको सरस्वती प्राथमिक विद्यालयमा जम्मा १५ जना विद्यार्थी छन् । टिनले छाएको पाँच कोठे एक तले विद्यालय भवन छ । कार्यालय सहयोगीसहित तीन जना कर्मचारी छन् ।
तिलबहादुर बाह्रघरे विद्यालयका प्रधानाध्यापक हुन् । उनी अस्थायी दरबन्दीमा कार्यरत छन् । त्यस्तै बालविकासमा दिलकुमारी ठकुरी र कार्यालय सहयोगीको रूपमा एक जना कार्यरत छन् । आवश्यकताअनुसार तीनै जनाले मिलेर कक्षा सञ्चालन गर्छन् ।
विद्यालयमा प्राय: घण्टी बज्दैन । थोरै विद्यार्थी र कर्मचारी भएकाले शिक्षक आफैँले मिलाएर कक्षा सञ्चालन गर्छन् । कार्यालय सहयोगीसमेत तीन जनाले मिलिजुली पठनपाठन गराउँछन् ।

‘मैले प्राय: कक्षा १, २ र ३ मा एकैपटक हेरिरहेको हुन्छु । आवश्यक पर्दा कार्यालय सहयोगीले पनि पढाउन सहयोग गर्नुहुन्छ,’ प्रधानाध्यापक बाह्रघरे भन्छन्, ‘एउटा कक्षामा जाँदा अर्को छुट्ने हुन्छ । त्यसैले मिल्नेजति कक्षा भने मिसाएरै पढाइन्छ ।’
बाह्रघरेका अनुसार बालविकासमा १० जना बालबालिका अध्ययनरत छन् । त्यस्तै, कक्षा १ मा तीन जना विद्यार्थी छन् भने कक्षा २ र ३ मा एक–एक जना विद्यार्थी छन् । बिहान १० बजे विद्यालय पुगेका विद्यार्थी ३ बजेपछि घर फर्कन्छन् ।
सुनकेश वंशी ठकुरी, विद्या मल्ल ठकुरी र एलिशा मल्ल ठकुरी कक्षा १ मा पढ्छन् । त्यसमध्ये पनि सबै सधैँ स्कुल नआउने बाह्रघरेको भनाइ छ । कक्षा २ मा मीना वंशी ठकुरी र कक्षा ३ मा गोमा वंशी ठकुरी अध्ययनरत छन् ।
सरस्वती प्राविका शिक्षक र विद्यार्थीलगायत ।विद्यालयको स्रोत केन्द्रको निर्देशनअनुसार परीक्षा सञ्चालन हुन्छ । निर्देशनबमोजिम कापी किताब ल्याएर स्कुलमै परीक्षा सञ्चालन हुने बाह्रघरेको भनाइ छ । ३ कक्षा पास गरेपछि भने अधिकांश विद्यार्थीहरू थप अध्ययनका लागि हुम्सेकोट माध्यमिक विद्यालयमा जान्छन् ।
वडा अध्यक्ष खामबहादुर समाईका अनुसार २०४५ सालमा स्थापना भएको उक्त विद्यालयले ‘जगदेव’ गाउँलाई समेट्छ । करिब एक वर्षअघिसम्म माध्यमिक तहसम्मै पठनपाठन हुने गर्थ्यो । तर, विद्यार्थी संख्या कम हुँदै गएपछि सोही वडाको हुम्सेकोट माध्यमिक विद्यालयसँग सरस्वती माध्यमिक विद्यालयको समायोजन भयो ।

समायोजन भए पनि जगदेव गाउँमा रहेका साना बालबालिकालाई हुम्सेकोटसम्म हिँडेर जान असहज भयो । त्यसैले सरस्वती माविकै पुरानो संरचनामा ३ कक्षासम्म पढाउने निर्णय भयो । करिब ३० घर रहेको उक्त गाउँमा आर्थिक हैसियत कमजोर हुने अभिभावकले मात्र सरस्वती प्राविमा पढाउन ल्याउने बताउँछन्, प्रधानाध्यापक बाह्रघरे ।
‘त्यहाँका हुनेखाने परिवारले निजी विद्यालयमा पढाउन छोराछोरीलाई तराईतिरै लग्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएका अभिभावकले मात्र हाम्रोमा ल्याउने हो,’ उनले भने ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८ १७:५४