पढ्नुपर्छ । खुब पढ्नुपर्छ । पढेर मात्र हुँदैन- फरर अंग्रेजी बोल्न सक्ने हुनुपर्छ- ठूलो मान्छे बन्नुपर्छ ।
बेलुका सुत्नुअघि बा यसै भनेर सपना जगाउनुहुन्थ्यो । यस्तो सपना, जहाँ समाजका हरेक जनले हाम्रै नाम पुकारून् । फलानाका बा भनेर हिँड्दा निर्धक्क छाती फुलाउन पाइयोस् । छरछिमेकले आफ्ना छोराछोरीलाई सम्झाउँदा उदाहरणीय बन्न सकियोस् ।
छोरालाई ठूलो मान्छे बनाउने बा’को सपनाभित्र यस्तैयस्तै स्वार्थ लुकेको हुन्थ्यो । तर, के हुँदा ठूलो मान्छे बनिन्छ ? मलाई कहिल्यै थाहा भएन । तैपनि बाले भनेपछि मान्नैपर्याे, मैले पनि ठूलो मान्छे बन्ने सपना देख्न थालेँ ।
बेलुकी अँगेनोको डिलमा प्रवचन दिन बस्दा बासँग उदाहरणका फेहरिस्त नै हुन्थे । जस्तो, फलानोको छोराले लोक सेवामा नाम निकालेछ । पारि गाउँकी फलानीले लोक सेवा तयारी गरिरहेकी छे । तेरै साथी सन्तोष ढोका थुनेर रातदिन पढेको पढ्यै गर्दो रै'छ । सुष्मा त ‘स्कुल फस्ट’ नै गर्छु भनेर भिडेकी छे । यस्तै यस्तै...।
बाको चाहना थियो- छोराले सरकारी जागिर नै खाओस् । जुन क्षेत्रमा जागिर खाए पनि फरर अंग्रेजी बोल्नुचाहिँ अनिवार्य सर्तजस्तै थियो । त्यसैले अंग्रेजी सिकाउन बा मरिमेटेर लागिपर्नुहुन्थ्यो । जसोतसो अंग्रेजीमा प्रश्न सोध्ने प्रयत्न गर्नुहुन्थ्यो ।
‘ह्वाट आर...’ एकछिन अक्मकिएर फ्याट् भन्नुहुन्थ्यो, ‘लाइभिङ बिङ्...स ?’ ‘लिभिङ बिङ्स’लाई यसै भनेर उच्चारण गर्नुहुन्थ्यो । आँखा खुम्च्याएर किताब हेर्दै बाले प्रश्न सोधिसक्दा हाम्रो ‘खितखित...’ सुरु भइसक्थ्यो । तर, छेउमा रहेको सिर्कनुका कारण खुलेर हाँस्न भने सक्दैनथ्यौँ ।
जवाफ दिँदा स्कुलमा सरले लेखाइदिएको उत्तरबाट कुनै शब्द छुटाउन पाइन्थेन । केही छुटिहालेमा बाबाट पुन: रट्ने उर्दी आउँथ्यो । के गर्ने ? बाले भनेपछि मान्नैपर्याे, हामी पनि मच्चीमच्ची रट्न थाल्थ्यौँ । छोराछोरीलाई अंग्रेजी सिकाउने बाको त्यो हुटहुटी लोभलाग्दो थियो ।
बा आफूले नजानेको कुरा पनि सिक्दै सिकाउनुहुन्थ्यो । केही नलागे ‘ट्युसन’ पढाउने शिक्षक नै खोजेर ल्याउनुहुन्थ्यो ।
‘ओहो, भुट्निज मास्टर !’
त्यसबेला भुट्निज मास्टर भनेपछि सिङ्गो गाउँ नै मोहित हुन्थ्यो । गाउँमा पढाउन गएका भुटानी शरणार्थीले ‘भुट्निज मास्टर’को परिचय पाउँथे । उनीहरू हरेक अभिभावकलाई मनपर्ने शिक्षकमा गनिन्थे । कारण, अंग्रेजी वाचनमा ती शिक्षकहरू अरुभन्दा अब्बल मानिन्थे । विषयविज्ञतामा जस्तै होस्, अंग्रेजी जानेपछि ऊ यसै राम्रोमा गनिन्थ्यो ।
त्यसैले पनि सबै जना भुटानी मास्टर खोज्न लागिपर्थे । स्कुलका प्रिन्सिपल मास्टर खोज्न झापातिर जानुहुन्थ्यो । ‘माधव सर झापा जानुभा’छ भनेर हल्ला चल्न थाल्यो भने बुझ्दा हुन्थ्यो- अब गाउँमा नयाँ भुटानी मास्टर आउँदैछन् ।
पछिपछि त बाहिरबाट जो शिक्षक गए पनि ‘भुट्निज मास्टर’ भनेरै सम्बोधन गरियो । हामी अधिकांश विद्यार्थीलाई भने भुटानी मास्टर कहिल्यै मन परेन । उनीहरूले दिने सजायले नै आधा विद्यार्थीको सातो उड्थ्यो । लेखाइएका प्रश्नोत्तर र पाठ रट्न सक्ने विद्यार्थी भने यस्ता सजायबाट जोगिन्थे ।
ओहो...! ‘भुट्निज मास्टर’ को त के कुरा गर्नु, ठाउँमै हानेर खुत्रुक्कै पार्ने । विद्यार्थी चुट्दा पनि क्रिकेट खेलको मज्जा लिएझैँ गर्थे । ज्यानलाई घोप्ट्याएर ‘छक्का’ भन्दै पछाडिपट्टि हानेको त्यो प्रहार सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।
म भने नियमित सजाय भोग्ने विद्यार्थी थिएँ । रट्न भनेपछि टाउको दुखिहाल्ने । तर, उपाय पनि के थियो र ? आज नरटे भोलि ती भुटानी मास्टरको सिर्कनुले दुखाउँथ्यो । सुरुसुरुमा त सिर्कनुको दुखाइ सहनुभन्दा टाउको दुखाउनु नै सही भन्ने लाग्यो । मरीमरी प्रश्नोत्तर रटिन्थ्यो ।
सुरुसुरुमा सही लागेको कुरा मलाई बिस्तारै सही लाग्न छोड्यो । आखिर जे दुखे पनि दुख्नु नै त हो भन्दै पाठ रट्न छोडिदिएँ । अनि ती मास्टरकै भाटोमा आफूलाई बानी पार्न थालेँ ।
ओहो...! सम्झिँदा पनि भतभती पोल्छ । धुलाइ पनि यति मिलाईमिलाई गर्ने कि, ठाउँमै हानेर खुत्रुक्कै पार्ने । लाग्थ्यो, उनीहरूले पढाउनेभन्दा पनि विद्यार्थी चुट्ने तालिम नै लिएर आएका छन् । विद्यार्थी चुट्दा पनि क्रिकेट खेलको मज्जा लिएझैँ गर्थे । ज्यानलाई घोप्ट्याएर ‘छक्का’ भन्दै पछाडिपट्टि हानेको त्यो प्रहार सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।
औँलाको कापमा पेन्सिल हालेर बटारेपछि भुतुक्कै भइन्थ्यो । डेस्कमाथि चढाएर साथीहरूको अगाडि बेइज्जत नै गर्नेगरी कुटेको त कहाँ बिर्सन सकिन्छ र ? कुटाइ खानु भनेको गाउँमा आफ्नै इज्जत दाउमा लगाउनुझैँ लाग्थ्यो । त्यसैले पनि दुखेको शरीर लुकाएर त कति बसियो–बसियो ।
हुन त यो सबै मेरो अल्छ्याइँकै परिणाम थियो । कथित् ‘प्रथम’, ‘दोस्रो’ वा ‘तेस्रो’ हुने प्रतियोगितामा आफूलाई हुल्न नचाहने प्रवृत्तिको परिणाम थियो ।
अहिले आएर बुझ्न थालेँ, ‘केटाकेटीलाई फकाएर सिकाउनुपर्छ, तर्साएर होइन । थर्काएर त विद्यार्थीलाई मानसिक तनाव मात्र मिल्छ ।’ यही कुरा भुट्निज मास्टरले उबेलै बुझिदिएको भए मैले त्यसरी चुटिनुपर्ने थिएन होला ।
स्कुलको चुटाइले सातो लगेपछि बिस्तारै म औपचारिक पढाइबाट भाग्न थालेँ । सुरुसुरुमा त स्कुल जाने भन्दै बरालिन थालेँ । घरकै पछाडिपट्टि लुकेर पनि बसेँ कतिचोटि । कहिलेकाहीँ त लुकेर बस्दा पानी दर्कन थालिहाल्थ्यो । आकाशे पानी छल्न दलानमा अड्डी लागेर घुमभित्र पनि लुकेको छु ।
तर, सधैँ त्यसरी किन हुन्थ्यो र ? एक दिन पानी परेकै बेला बालाई खेत जानुपर्ने भएछ । त्यसपछि ओत लाग्न घुम खोज्न थाल्नुभयो । यो दृश्य मैले घुमभित्रको दुलोबाट चियाइरहेको थिएँ । घरपछाडि ठाडो परिरहेको घुम देख्नासाथ बाले कुद्दै आएर तान्नुभयो ।
फुत्त घुम तान्दा छोरो पो निस्कन्छ ! स्कुल जान्छु भनेर हिँडेको छोरो घुमभित्र भेटेपछि बा चकित पर्नुभयो । यता मेरो लागि भने दशाको अर्को अध्याय सुरु हुनेवाला थियो । मैले बाकै हातबाट धुलाइ खाएँ ।
भोलिबाट बा आफैँ स्कुल पुर्याउन जान थाल्नुभयो । मैले अटेर गरेर रुवाबासी गर्नासाथ वनमारा वा बाँसको सिर्कनोले सुम्ल्याइहाल्ने । अब त मैले स्कुल र घर दुईतिरै चुटाइ खान थालेँ ।
बाले मलाई ‘ठूलो मान्छे’ बनाउन भनेर चुटिरहनुभएको थियो । छोरोले नपढ्ने भयो भन्ने चिन्ताले जबर्जस्ती स्कुल पुर्याउनुहुन्थ्यो । अंग्रेजीमोहकै कारण बाको ध्यान निजी विद्यालयबाहेक दायाँबायाँ थिएन । अंग्रेजी सिक्ने नाममै मैले त्यत्रो धुलाइ खाइरहेको थिएँ ।
यद्यपि अहिले मेरो अंग्रेजी उस्तो राम्रो छैन । कनीकुथी अलिअलि बुझे धन्न ! बोल्ने कुरोमा त भन्नै परेन, मेरो जिब्रो तीन ठाउँमा बटारिन थाल्छ । त्यसैले अबका बा-आमा र शिक्षकहरूले बुझ्नुपर्छ- धुलाइ गरेर मात्र छोराछोरीले सिक्दैनन् । बालबालिकालाई थर्काएर होइन, फकाएर सिकाउन जान्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ ०७:३८