पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत सुवास थापाको अनलाइन कक्षा सञ्चालनमा छैन । त्रिभुवन विश्वविद्यालयले आफूअन्तर्गतका सबै क्याम्पसलाई अनलाइन विधिबाट कक्षा सञ्चालन गर्न निर्देशन दिए पनि उक्त क्याम्पसमा अनलाइन कक्षा प्रभावकारी हुन सकेकाे छैन ।
हाल सीएसआईटी तेस्रो सेमेस्टरमा पढ्ने थापाका अनुसार काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट आएसँगै भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपछि पठनपाठन अवरुद्ध बनेको छ ।
‘हाम्रो अनलाइन कक्षा नियमित सञ्चालन भइरहेको छैन । पहिला (लकडाउन अवधि) जत्तिको पनि छैन । कम्प्युटरसँग जोडिएर पढ्ने हाम्रो हालत त यस्तो छ अरुको के होला ?,’ उनले भने ।
त्यस्तै, पशुपति बहुुमुखीमा अध्ययनरत सुवास पोखरेल पनि अनलाइन कक्षा सञ्चालन नभएको बताउँछन् । व्यवस्थापन संकाय प्रथम वर्षमा पढ्ने उनको कक्षा सञ्चालन नभएकाे हाे । विद्यार्थीहरूलाई क्याम्पसले अनलाइन पुस्तकालयजस्ता पठनपाठनको स्रोतहरू उपलब्ध नगराएको उनले बताए ।
‘त्रिविले ई–लाइब्रेरीजस्ता कुरा उपलब्ध गराउने व्यवस्था गरेको छ भनेर हल्ला भएको थियो । तर, त्यसबारे हामीलाई क्याम्पसले कुनै खबर गरेको छैन,’ पोखरेलले भने ।
यता देशकै पुरानो क्याम्पस त्रिचन्द्र बहुमुखीमा पनि प्रभावकारी रूपमा अनलाइन कक्षा सञ्चालन भएको पाइँदैन । क्याम्पसले केही प्रयत्न गरे पनि गाउँघर तिर गएका विद्यार्थीहरू पढाइबाट छुट्ने गरेको बताउँछन्, विद्यार्थी गोविन्द काेइराला ।
क्याम्पसले आज (१७ माघ)बाट अनलाइन कक्षा हुन्छ भनेर सूचना निकाले पनि प्रभावकारी हुनेमा कोइराला विश्वस्त छैनन् । त्रिविले प्रदान गर्ने इमेल आईडी विद्यार्थीले पाएपछि सोही माध्यमबाट क्याम्पसले पढाइ गराउने बताएको उनी बताउँछन् ।
तर, त्रिभुवन विश्वविद्यालयले बताएबमोजिम ई–पुस्तकालय लगायत अध्ययन सामग्री भने नपाएकोमा उनको गुनासो छ । ‘हाम्रोमा त्रिविले पठाएको इमेलको माध्यमबाट पढाइ हुन्छ । तर, दुरदराज पुगेका साथीहरू छुटिरहेकै हुन्छन्,’ उनी भन्छन्, ‘त्रिविले उपलब्ध गराउने भनेको ई–पुस्तकालयजस्तो कुराको बारेमा हामी विद्यार्थीलाई केही थाहा नै छैन । क्याम्पसले पनि भनेको छैन ।’
यसरी त्रिभुवन विश्वविद्यालयका अधिकांश सामुदायिक क्याम्पसमा पठनपाठन भएको पाइँदैन । कोरोना महामारीले शैक्षिक संस्थाहरू बन्द भएपछि औपचारिक पठनपाठनको काम प्रभावकारी हुन नसकेका गुनासोहरू आइरहेका छन् ।
त्रिविको भर्चुअल संरचनाबारे विद्यार्थी नै बेखबर
केही समयअघि कोरोना महामारीले भौतिक रूपमा पठनपाठन गर्न असहज भएपछि त्रिविले अनलाइन माध्यमलाई प्रभावकारी बनाउने गरी काम अघि बढायो । उक्त कामका लागि शिक्षाध्यक्ष शिवलाल भुसालको नेतृत्वमा समिति गठन गर्यो । र, भर्चुअल कक्षा सञ्चालनका लागि संरचना निर्माणको काम थाल्यो ।
अनलाइन माध्यममा काम गर्न सुरुमा त ‘क्लाउड’मा विश्वविद्यालयको संरचना तयार पार्न आवश्यक हुन्छ । त्रिविले पनि ‘माइक्रोसफ्ट अफिस’मा थप संरचना तयार गर्याे । यसरी विद्यार्थी र शिक्षक जोडिने माध्यम सहजै तयार भएपछि शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई इमेल आईडी प्रदान गर्ने भयो ।
इमेलमार्फत नै विद्यार्थीलाई पढाउन पुरानै ढाँचाका कक्षाहरू निर्माण गरिए । भौतिक रूपमा विद्यार्थीहरू जसरी समूहसमूहमा विभाजित थिए, सोहीअनुसार पठनपाठन गराउने गरी संरचना त्रिविले तयार गर्यो ।
पढ्ने–पढाउने माध्यम खडा गरेपछि त्रिविले अनलाइन माध्यममै शिक्षण सामग्री उपलब्ध गराउने योजना बनायो । र, ‘प्रोक्वेस्ट’ डाटाबेस र भारतको ‘नेसनल डिजिटल लाइब्रेरी अफ इन्डिया’ जस्ता थुप्रै अध्ययन सामग्री भएका कम्पनीसँग सम्झौता गर्यो । खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक गंगा गौतमका अनुसार उक्त ‘डिजिटल लाइब्रेरी’मा त्रिविले दिएको इमेल आईडीबाटै विद्यार्थीले पहुँच पाउँछन् ।
त्रिविले वर्षको ३१ लाख तिर्ने गरी सो कम्पनीसँग सम्झौता गरेको बताउँछन् त्रिवि केन्द्रीय पुस्तकालयका प्रवक्ता विजय शर्मा । उनका अनुसार यो सुविधा त्रिविका आंगिक एवं सम्बन्धन लिएका सबै क्याम्पसका विद्यार्थीका लागि रहनेछ ।
आंगिक क्याम्पसका विद्यार्थीले निःशुल्क यो सुविधा लिन सक्नेछन् । तर, सम्बन्धनप्राप्त क्याम्पसका विद्यार्थीले भने वार्षिक २ सय रुपैयाँ तिर्नुपर्ने शर्मा बताउँछन् । सम्बन्धनप्राप्त कलेजले यो सुविधा लिनका लागि सुरुमा त्रिविलाई ५ हजार रुपैयाँ ‘इन्स्टलेसन चार्ज’ तिर्नुपर्छ । त्यसपछि विद्यार्थीले वार्षिक २ सय रुपैयाँ तिरेपछि उक्त रिसोर्समा पहुँच पाउँछन् ।
शिक्षाध्यक्ष शिवलाल भुसाल भने त्रिविको उक्त संरचना अल्पकालीन मात्र नभएर दीर्घकालीन रूपमै सञ्चालनमा आउने बताउँछन् । इच्छाएको व्यक्तिले अनलाइनबाट पनि पढ्न पाउने गरी दीर्घकालीन व्यवस्था गर्ने योजना रहेको भुसालले बताए ।
जबकि त्रिविले दिने भनेको यस्तो सुविधाबारे विद्यार्थी स्वयम् बेखबर छन् । यस्ता स्रोतसाधनबारे विद्यार्थीहरू जानकारीसम्म नपाएको गुनासो गर्छन् । त्रिचन्द्र बहुमुखीमा अध्ययनरत गोविन्द कोइराला यसबारे कलेजले सूचनासम्म नदिएको बताउँछन् ।
तर, खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक गौतम यसपटक प्रभावकारी रूपमा अगाडी बढाइने बताउँछन् । उनका अनुसार सहायक डिनको अध्यक्षतामा प्रत्येक संकायको अनुगमन टोली बनाइएको छ । टोलीले कक्षा भएको नभएको ‘रिपोर्ट’ ल्याएर त्रिविमा बुझाउनेछन् ।
‘पहिलाको लकडाउनमा सिधै त्रिवि केन्द्रीय विभागले हेर्ने गर्दथ्यो । यसपटक संकायपिच्छे अनुगमन टोली बनाइएको छ । अब यसलाई पहिला भन्दा थप प्रभावकारी बनाइँदै लगिनेछ,’ गौतमले भने ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८ ०९:४०