राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टीबाट विद्रोह गरी नयाँ पार्टी बनाउने अन्तिम चरणमा छन् । त्यसका लागि उनले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । त्यसमाथि सरकारले ३० वैशाख ०७९ का लागि स्थानीय तह निर्वाचन मिति घोषणा गरिसकेका कारण थापा थप दबाबमा परेका छन् ।
उनी स्थानीय तहको निर्वाचनमा सहभागी हुने गरी दल दर्ताको तयारीमा छन् । नयाँ पार्टी दर्ता गरेर जाँदा स्थानीय तहको निर्वाचन भ्याइन्छ कि भ्याइँदैन भन्नेबारे पनि थापा छलफलमा छन् । सरकारले ३० वैशाखमा निर्वाचनकाे मिति घोषणा गरेका कारण निर्वाचन आयोग दल दर्ताका लागि आह्वान गर्ने तयारीमा छ । आयोगले केही दिनभित्रै निर्वाचनमा भाग लिने प्रयाेजनका लागि दलहरूलाई दर्ता आह्वान गर्नेछ ।
नियमित दल दर्ता भने अन्य समयमा पनि हुन्छ । त्यसैकारण थापा अहिले दबाबमा परेका छन् । थापानिकट नेताहरूको भनाइमा एक साताभित्र सबै प्रक्रिया टुंगो लगाएर दल दर्ता गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार कमल थापाले पशुपति शमशेर राणालाई अध्यक्ष बनाउने प्रस्ताव गर्ने तयारी गरेका छन् ।
आफू वरिष्ठ नेता हुने र राणालाई अध्यक्ष बनाएर लैजाँदा राप्रपाको पुरानो लिगेसी कायम रहने विश्वाससहित थापाले उनलाई अगाडि सार्ने प्रयास गरेका छन् । थापानिकट नेताहरूले दिएको जानकारी अनुसार राणाले थापाको प्रस्तावलाई अस्वीकार गरेको अवस्थामा बुद्धिमान तामाङलाई अध्यक्षकाे प्रस्ताव गर्नेछन् ।
आफूभन्दा वरिष्ठ नेता भएको र राप्रपाको नेतृत्व पनि जनजाति भएकाले तामाङलाई अध्यक्ष बनाउँदा उपयुक्त हुने सुझाव थापासम्म पुगेको छ । यसमा थापा पनि सकारात्मक छन् । राणा र तामाङमध्ये एक नेताले अध्यक्षकाे प्रस्ताव स्वीकार गरेको अवस्थामा थापा वरिष्ठ नेता हुने र पार्टीका सम्पूर्ण गतिविधि चाहिँ आफूले चलाउने रणनीति बनाएका छन् । आफू अध्यक्ष हुँदा पदकै लागि पार्टी फुटाएको आरोप लाग्ने डरले पनि थापाले राणा र तामाङको विकल्पमा छलफल चलाएका हुन् ।
यद्यपि, राणा र तामाङले औपचारिक रूपमा थापाको पार्टीमा संलग्न हुने बताइसकेका छैनन् । अध्यक्ष लिङ्देनसँग असहमत भए पनि पार्टी फुटाउने विषयमा उनीहरू प्रस्ट नभइसकेकाले थापामाथि दबाब भने बढ्दै गएको छ । राप्रपाका पदाधिकारीमध्ये कति नेता आफ्नो पार्टीमा आउने हुन् भन्नेमा पनि थापा प्रस्ट भइसकेका छैनन् । थापानिकट मानिएका भुवन पाठक सोमबारको छलफलमा सहभागी थिएनन् । उपाध्यक्ष धुव्रबहादुर प्रधान र रोशन कार्की पनि अन्तिममा थापाको पक्षमा खुल्ने सम्भावना कम रहेको विश्लेषण थापानिकट नेताहरूबीच भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८ १३:०८