पाँच दिन (१५ फागुन) देखि अभिनेता पूर्णविक्रम शाह ‘पल शाह’ थुनामा छन् । उनीमाथि एक नाबालिगलाई यौन शोषण गरेको आरोप छ ।
सोही आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी परेपछि शाह प्रहरी कार्यालयमा हाजिर भएका थिए । प्रहरीले नाबालिगमाथि यौन शोषण भए/नभएको बारे अनुसन्धान गर्न पहिलो पटक जिल्ला अदालतबाट सात दिनको समयसीमा पाएको छ ।
उक्त समयसीमा आइतबार सकिँदैछ । प्रहरीले हाल अनुसन्धान गर्न पाएको समय अवधिमा शाहमाथिको अनुसन्धान गर्न नसके अदालतले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिनसक्ने कानुनी व्यवस्था छ ।
तर, शाहमाथिको अनुसन्धान प्रक्रिया नै नसकिँदै उनको पक्ष र विपक्षमा प्रहरी कार्यालयअगाडि नारा–जुलुस भइरहेको छ । जसले गर्दा कानुनी प्रक्रिया नै प्रभावित हुने आशंका पीडित परिवारको छ । हिरासतभित्र रहेका शाहविरुद्ध प्रहरी कार्यालयअगाडि नै नारा–जुलुस हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बन्नुले पनि पीडित परिवारलाई सशंय उब्जिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मी भने प्रहरी कार्यालअगाडि कुनै प्रकारको नारा–जुलुस नभएको दाबी गर्छन् ।
‘प्रहरी कार्यालयअगाडि कुनै प्रकारको नारा–जुलुस भएको छैन । तपाईंले सामाजिक सञ्जालको भिड देखेर प्रहरी कार्यालयअगाडि भन्नु नै गलत हो,’ एसपी रेग्मीले भने, ‘कानुनी प्रक्रियामा गएको विषयलाई बाहिरको भिडले कुनै अर्थ राख्दैन ।'
चलचित्रकर्मी नै पक्ष–विपक्षमा
किशोरी गायिकामाथि भएको यौनशोषणबारे पक्ष र विपक्षमा नाराजुलुस गर्नेहरूमा युट्युबरदेखि चलचित्रकर्मीहरूसम्म छन् ।
कलाकार तथा सेलेब्रिटीको एउटा स्टाटस तथा कमेन्टले उनका प्रशंसक तथा शुभचिन्तकसम्म पार्ने प्रभाव महत्त्वपूर्ण हुने र त्यही कारण सामाजिक सञ्जालमा त्यसको चर्चा भएको प्रहरीको भनाइ छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमै शारीरिक सम्पर्क गरे पनि कानुनअनुसार त्यो बलात्कार ठहरिने भएकाले भिडको कुनै अर्थ नहुने बताउँछन् ।
‘किशोरीको उमरे १८ वर्षभन्दा मुनि देखिन्छ । हामी उनीमाथि शाहको शारीरिक सम्बन्ध भएको उजुरी पुष्टि हुन्छ कि हुँदैन, अनुसन्धानकै क्रममा छौँ । त्यो पुष्टि भए अदालतले के गर्छ, अदालतको कुरा भयो । यो भिडको के अर्थ हुन्छ र ?,’ ती अधिकारीले भने ।
ती बालिका ०६२ सालमा जन्मिएकाले हाल १६ वर्ष मात्रै पुगेकाे देखिन्छ । यसैले उनी बालिका भएकाे अगाडि नै पुष्टि भइसकेकाे छ ।
पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ अहिले हलहरूमा प्रदर्शन भएकै बेला उनी पक्राउ पर्दा हलबाहिर निस्कने दर्शकहरूले नाराजुसुल गर्नुलाई कानुनी प्रभाव पर्छ भन्नु नै गलत हुने अधिवक्ता प्रेम भट्टको भनाइ छ ।
‘पल चलचित्रको हिरो हो । उसको पक्षमा केही मानिस बोल्दैमा कानुनी प्रक्रिया नै प्रभावित हुन्छ भन्ने सोच गलत हो । प्रहरीले घटनासँग जोडिएको विषयमा प्रमाण कति पुर्याउँछन्, त्यो महत्त्वपूर्ण हो,’ अधिवक्ता भट्टले भने ।
‘म यस्तो गीत गाउँछु’ का निर्देशक सुदर्शन थापादेखि सोही फिल्ममा अभिनेत्री पूजा शर्मा शाहको पक्षमा खुलेर लागेको देखिन्छ । त्यसरी नै युट्युबमा चर्चाकै लागि आफूलाई सामाजिक अभियन्ता बताउने पुण्य गौतमदेखि कलाकार जयकिशन बस्नेतसमेत पलको पक्षमा उत्रिएका छन् ।
उता शाहको पक्षमा उत्रिएपछि अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्मा, प्रियका कार्कीलगायतले भने पीडित बालिकाको पक्षमा अभिव्यक्ति दिएका छन् । अभिनेत्री रेखाले मंगलबार सामाजिक सञ्जालमा स्टाटसमार्फत महिलामाथि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक हुने बताएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ १५:५८