त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा प्रायजसो नाराबाजी र तालाबन्दी भइरहेको हुन्छ । विभिन्न माग राख्दै प्राध्यापक संघठनदेखि विद्यार्थीसम्मले तालाबन्दी गरिरहेका हुन्छन् । हिजोआज पनि त्रिवि पदाधिकारीको कार्यकक्षामा तालामाथि ‘ताला’ झुन्डिएका छन् । आंशिक प्राध्यापक र नेपाल विद्यार्थी संघले पदाधिकारीको कक्षमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीसँगै नाराबाजी र विरोधसभाका दृश्यहरू पनि त्रिविका लागि नौलो होइन । उपकुलपति कार्यलयअगाडि आंशिक प्राध्यापकहरू दिनभरजसो कार्यक्रम गरिरहेका हुन्छन् । करिब ८ वर्षदेखि आन्दोलित आंशिक प्राध्यापकले अझै धर्ना र विरोधका कार्यक्रम छोडेका छैनन् । एउटा माइक र स्पिकर बोकेर उनीहरू त्रिविविरुद्ध नाराबाजी गर्न दैनिकजसो पुगेकै हुन्छन् ।

आंशिक प्राध्यापकको विरोधसभा
आंशिक प्राध्यापकको विरोधका कारण काम गर्नै झन्झट हुने त्यहाँका कर्मचारी बताउँछन् । ‘अहिले त ठप्पै भयो । नत्र त यता भाषणबाजीको कार्यक्रमले हामीलाई बिथोल्थ्यो । दिनभर होहल्लाबीच काम गर्नै गाह्रो हुन्थ्यो,’ उपकुलपति कार्यलयका एक कर्मचारीले शिलापत्रसँग भने । अहिले भने उपकुलपति कार्यलयको मूल ढोकामै तीनओटा ताला भुन्ड्याइएको छ । त्यहाँको काम सबै ठप्प छन् ।
त्यस्तै, उपकुलपति कार्यलयभन्दा माथिल्लो भवनमा रहेको रेक्टर कार्यलयमा पनि तालाबन्दी छ । शिक्षाअध्यक्षको कार्यकक्षमा पनि कार्यलय आफैँले लगाएको तालासहित तीनवटा ताला लगाइएको छ । पछिल्लोपटक फागुन ७ गतेबाट सो कार्यकक्षमा ताला लगाइएको त्यहाँका एक कर्मचारी बताउँछन् । ‘अब आउने ७ गते (चैत ७) यो ताला लगाएको एक महिना पुग्छ । त्योभन्दा अगाडि पनि तालाबन्दी भइरहेकै थिए,’ रेक्टर कार्यलयकै एक सुरक्षागार्डले शिलापत्रसित भने ।

शिक्षाध्यक्षको कार्यकक्ष
रेक्टर कार्यलयभन्दा पारीपट्टी रहेको रजिस्ट्रार कार्यलय पनि ठप्प छ । त्यहाँ पनि तीनओटा ताला लगाइएको छ । तालाबन्दीका कारण ‘त्रिवि स्टोर’समेत ठप्प छ । पुस्तक लिन पुगेका सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् । ‘पङ्गेनी सरको किताब पाइन्छ कि भनेर आएको, सबै ठप्प रहेछ । यस्तो त छ शैक्षिक संस्थाको हालत,’ किताब खोज्न त्यहाँ पुगेका रमण अधिकारीले गुनासो गरे ।

त्रिविका डिन कार्यलयहरू पनि ठप्प छन् । आंशिक प्राध्यापकहरूले सबै डिन कार्यलयमा ताला लगाएका छन् । तर, कतिपय कार्यलयमा भने विद्यार्थीहरूले ताला फोडेका छन् । यद्यपि, उक्त कार्यलयमा पुनः ताला लगाइएको आंशिक प्राध्यापकहरूले जनाएका छन् । यसरी त्रिविका अधिकांश कार्यलयमा ताला लगाउने र फोड्ने क्रम जारी नै छ । जसको मारमा छन्, सेवाग्राही ।
‘समान कामको समान ज्याला’ माग्दै आंशिक प्राध्यापकको तालाबन्दी
समान कामको समान ज्याला पाउनुपर्ने भन्दै आंशिक प्राध्यापकहरू निरन्तर आन्दोलनमा छन् । उनीहरूले अन्य प्राध्यापकसरह काम गर्दा पनि ज्यालामा अन्याय भएको बताइरहेका छन् । त्रिविमा चलिरहेको आंशिक प्राध्यापकको आन्दोलन अहिले एकाएक जन्मिएको होइन । १७ वर्षअगाडि नन्दकिशोर सिंह पुनको नेतृत्वमा ‘आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति’ गठन भएपछि आंशिक प्राध्यापकहरू निरन्तर आन्दोलनमा छन् । यो समितिको नेतृत्व अहिले गोकुल लिम्बूले सम्हालिरहेका छन् ।

लिम्बूका अनुसार यसरी निरन्तर आन्दोलन गर्दै आएपछि सरकारले ८ मंसिर २०७४ मा आंशिक शिक्षकलाई कम्तीमा मासिक ज्याला दिनुपर्छ भनेर निर्णय गरेको थियो । उक्त निर्णयमा त्रिविमा १४ सय २० दरबन्दी थप गरेर आंशिक शिक्षकलाई करारमा छिराउने उल्लेख छ । तर, सो कुरा कार्यान्वयनमा आएन ।
त्यसपछि गएको साउनमा २०७४ को निर्णय कार्यान्वयन गराउने भनेर आंशिक शिक्षक र त्रिविबीच सम्झौता भयो । र, उक्त सम्झौता कार्यान्वयनमा नआउने छाँट देखेपछि पुनः आन्दोलन गरिरहेका छन्, आंशिक प्राध्यापक । त्रिवि पदाधिकारीको कक्षामा लगाइएको तालाहरूमध्ये एउटा उनीहरूको पनि हो ।
यद्यपि, आंशिक प्राध्यापकलाई परीक्षा हुन नदिन आन्दोलन गर्ने, परीक्षा हुन नदिएर आन्दोलनकै बलमा करार हुन खोजेको आरोप लाग्ने गरेको छ । जसलाई उनीहरू भने स्वीकार्दैनन् ।
'भ्रष्टाचार'को विरोधमा नेविसंघको तालाबन्दी
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि त्रिवि पदाधिकारीको कक्षमा तालाबन्दी गरेको छ । ‘भ्रष्ट त्रिवि पदाधिकारी’लाई खारेज गर्नुपर्ने भन्दै हरि आचार्यको नेतृत्वमा रहेको त्रिवि नेविसंघ समितिले तालाबन्दी गरेको हो । करीब एक महिनादेखि उनीहरूले तालाबन्दी गरिरहेका छन् ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनको लागि दिएको सम्बन्धन खारेज गरेपछि नेविसंघले भ्रष्टाचारको विषय उठाएको थियो । मापदण्ड नपुगेको भन्दै त्रिविले दुई महिनामा नै सम्बन्धन खारेज गरेपछि अनियमितता भएको प्रश्न उठेको थियो ।
क्याम्पस प्रमुख शिवनरायण झाले घुस नदिएका कारण सम्बन्धन खारेज भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्रिविको अनुगमन निर्देशनालयका केही व्यक्तिहरूले चौथो सेमेष्टरमा अध्ययनरत प्रतिविद्यार्थी एक लाख रुपैयाँ मागेको झाको आरोप छ । यही विषयको छानबिन गर्नुपर्ने भन्दै नेविसंघले तालाबन्दी गरिरहेको हो । जबकी त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले यसको छानबिन गर्न समिति गठन गरिसकेको छ ।
‘हामीले बाहिरैबाट काम गर्नुपर्ने अवस्था छ’
तालाबन्दीको कारण त्रिवि पदाधिकारी भने कार्यकक्ष बाहिरैबाट काम गर्न बाध्य छन् । शिक्षाध्यक्ष शिवलाल भुसाल तालाबन्दीका कारण कार्यलयबाट गर्ने काम ठप्प भएको बताउँछन् । ‘हामीले कार्यलयबाट गर्ने काम त हुने कुरै भएन । कतिपय अत्यावश्यक र मिल्ने काम बाहिरबाटै गरिरहेका हुन्छौँ,’ उनले शिलापत्रसँग भने ।
शिक्षाध्यक्ष भुसालका अनुसार उपकुलपति धर्मकान्त बास्कोटा आएपछि १ सय ४९ दिन त्रिविमा तालाबन्दी भएको पछिल्लो तथ्यांक छ । त्यसपछि भएको ४६ दिन जोड्दा त्रिविमा १ सय ९५ दिन तालाबन्दी भएको छ । बास्कोटा उपकुलपति भएको करीब २८ महिना पुग्यो । यसको मतलब पछिल्लो २८ महिनामा १ सय ९५ दिनजति त्रिविमा तालाबन्दी भएको हो ।
त्यस्तै, त्रिवि उपकुलपतिले पनि अधिकांश समय बाहिरैबाट काम गरिरहेका हुन्छन् । धेरैजसो उपकुलपतिकै कार्यकक्षमा तालाबन्दी हुने भएकोले उपकुलपतिले बाहिरैबाट काम गर्ने त्यहीँका एक कर्मचारी बताउँछन् । ‘प्रायजसो तालाबन्दी हुन्छ । भीसी सरले बाहिरबाटै कति काम गर्नुहुन्छ । कार्यलय ठप्प पार्दिने भएकोले यहाँबाट काम गर्न सहज छैन,’ उपकुलपति कार्यलयका एक कर्मचारीले शिलापत्रसँग भने ।
यसअघिका उपकुलपतिहरूले पनि अधिकांश समय बाहिरबाटै काम गर्न बाध्य हुनुपरेको गुनासो सुनिन्छन् । पूर्वउपकुलपति केदारभक्त माथेमासमेत करिब एक महिनाभन्दा बढी कार्यलयबाहिरबाट काम गर्नुपरेको अनुभव सुनाउँछन् । भन्छन्, ‘मैले पनि कतिपय समय बाहिरैबाट काम गर्नुपरेको थियो । आन्दोलनको नाममा कार्यलयमै ताला लगाइदिएपछि कसरी काम गर्ने ?’
यो पनि पढ्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८ १९:२७