काठमाडौं महानगरको मतगणना भएदेखि अगाडि छन् बालेन शाह । मतगणना भइरहेको राष्ट्रिय सभागृह बाहिर सर्मथकको भिड चौबिसै घण्टा तम्तयार हुन्छ । बेला बेला दर्किरहने झरीलाई ‘बाल’ दिँदै बालेनका समर्थक ‘सागर, बसन्ते, किस्ने, बालनेले हो जित्ने’ भट्याइरहन्छन् ।
मतगणनाबाट फुर्सद मिलाएर सडकमा समर्थकसँग ‘हाई, हेलो’ गर्न बाहिर आइपुग्छन बालेन । ‘डिजिटल युग’मा अभ्यस्त तन्नेरीहरू समर्थनका नयाँ तौरतरिका पनि पहिल्याउँछन् । ‘मिम’लाई नै नारा बनाउने बालेनका तन्नेरी समर्थकले सामाजिक सञ्जालमा पनि बालेनका ‘मिम’हरू भाइरले नै बनाएका छन् ।
मतगणना सुरु भएदेखि सभागृहको ढोकामा ‘धर्ना’ दिएर बसेका यी तन्नेरी दिनभर बालेनका पक्षमा नारबाजी गर्छन् । मतगणनाको अपडेट ढिला भयो भने, ‘वी वान्ट अपडेट’ भन्दै आतुरी देखाउँछन् ।
सभागृह बाहिर बालेनको समर्थनमा दिनभर सयौं समर्थक हुन्छन् । राति पनि यी तन्नेरी समर्थकको कमी हुँदैन । चिया पिउँदै, गफिदै मतगणनाको अपडेट खोज्दै, सामाजिक सञ्जाल स्क्रोल गरिरहने तन्नेरीले आज भने सभागृहको माहोल नै बदले ।
गितार, बाँसुरी र ताली बजाउँदै बालेन समर्थकले सभागृहको मुलढोकामा जसै ‘मुग्लान हेर जाँदै छु,......’ गाउन सुरु गरे, एक, दुई गर्दागर्दै यो सानो गीति कार्यक्रम मिनि कन्सर्ट भैगो ।
सभागृहभित्र बसेर कन्सर्ट सुनिरहेका नेपाली कांग्रेसका नेता प्रगतिमान रञ्जित पनि युवाहरूको कन्सर्ट सुनेर एकछिन भावुक बने । रञ्जितलाई नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयरका लागि सिफारिससमेत गरेको थियो ।
बालेनसँगै उभिएर सभागृहभित्रबाटै बाहिरको कन्सर्ट सुनिरहेका रञ्जितले बालेनईला सुझाव दिँदै भने, ‘तपाईंले जित्नु भयो भने, यी युवाहरूको सपना, भावना कसैगरी नमार्नुहोला ।’
‘मौनम स्विकृतम’को भावमा बालेनले टाउको हल्लाए । सञ्चारमाध्यमसँग कुरा गर्न नमानेका बालेनले भने, ‘अहिले हाम्रो टिमले मिडियासँग कुरा नगर्ने भनेको छ ।’
‘कुरा गर्नुभयो भने तपाईंलाई राम्रै हुन्छु,’ क्यामेरा र बुम तम्तयार गरेका पत्रकारले भने ।
‘हामीलाई त स्थापित ज्यूले गाली गर्दा पनि राम्रै भयो,’ बालेनले जवाफ फर्काए । यति भनेर उनी मतगणना भइरहेको कोठामा छिरे ।
यता, कन्सर्टको आवाज भने चर्को हुँदै गइरहेको थियो । ‘रातो र चन्द्र, सूर्य जंगी निशान हाम्रो....’ तन्नेरीहरू गाउँदै र नाच्दै छन् ।
कांग्रेस नेता रञ्जितले बालेनको समर्थन बढ्नुका कारण सुनाए, ‘खासमा बालेनलाई दलहरूप्रतिको असन्तुष्टिको मत गएको हो ।’
आफूले सुनाएको कारणलाई थप व्याख्या गर्दै उनले भने, ‘२५ वर्ष अगाडि नै मेयर भइसकेका हुन् स्थापित (केशव), यो बीचमा एक सिंगै नयाँ पुस्ता तयार भइसक्यो । त्यसलाई मिचेर पुरानै मान्छे उठायो एमालेले । सिर्जना सिंहमाथि परिवारवादको ट्याग लाग्यो । अनि यी सबैबाट विरक्तिएका मतदाताले लौरोमा भोट हाले ।’
काठमाडौंका युवा मतदाताले आफ्ना आमा, बुबा र परिवारका सदस्यलाई पनि लौरोमा मत हाल्न प्रेरिरित गरेको सुनाए रञ्जितले।
स्थापितमाथि लागेको महिलामाथि दुर्व्यवहारको आरोपले धेरै महिलाले बालेनलाई मत हालेको पनि उनको बुझाइ छ । ‘एक छाप लौरोमा बाँकी सूर्यमा भएका धेरै मतपत्र देखिए,’ उनी भन्छन्, ‘यो भोट भनेको एमालेका महिला कार्यकर्ता वा समर्थकको हो कि भन्ने लाग्छ ।’
रञ्जितको विश्लेषण जारी हुँदा–हुँदै सभागृहको गेट बाहिर बालेन समर्थकको कन्सर्टको आवाज बढ्दै गयो । तन्नेरीहरू मोबाइलको फ्ल्यास लाईट बालेर, चिसो सडकमा बसेर गितार, बाँसुरी बजाउँदै, गाउँदै, नाँच्दै उत्सव मनाइरहेका छन् ।
गेट बाहिर नाँचिरहेका, गाइरहेका अधिकांश तन्नेरी स्वतःस्फुर्त बालेनको समर्थनमा उत्रिएका हुन् । आफूले चाहेका मान्छे उम्मेदवार बनाएर नागरिकमाथि थोपार्ने दलीय प्रवृतिको विरुद्धमा बालेनमार्फत विद्रोहको संकेत गरेका यी तन्नेरीका सपना खास ठूला छैनन् भन्ने कुरा त उनीहरूका नाराबाटै थाह हुन्छ । बेलाबेला उनीहरू नारा लगाउने गर्छन्, ‘काठमाडौंको फोहोरले के भन्छ, बालेनलाई ल्या भन्छ् ।’
फोहोर व्यवस्थापन जस्तो अत्यावश्वक मुद्दा पनि व्यवस्थाप गर्न नसकेका दलहरूको ‘फोहोरी प्रवृति’बाट उन्मुक्ति पाउने तन्नेरीहरूको प्रयास उनीहरूले मध्यरातमा सडकमा मुक्त भएर गाएको गीत जस्तै मुक्त छ ।
यो कन्सर्ट चलिरहँदा सामाजिक सञ्जालमा बालेनले ४६सय ४६ मत पाएको अपडेट आयो । अनि तन्नेरीहरू चिच्याए, ‘सागर, बसन्ते, किस्ने, बालेनले हो जित्ने......।’
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०१:४३