पूर्वसांसद शिवपुजन यादवलाई यतिखेर फोन उठाउन भ्याइनभ्याइ छ । आफू राजनीतिक व्यक्तित्व भएकाले उनी यति व्यस्त भएका होइनन् । जेठो छोरो राजाबाबुको सफलताले यी पिताको व्यस्तता बढाएको हो ।
‘छोराले जित्यो । मैले बधाई खाइरहेको छु,’ शिवपुजनले फोनमै शिलापत्रसँग सुनाए, ‘उसलाई त दशौँ हजार जनताले घेरिरहेका छन् । म यहाँ छेउमै छु । तर, उसलाई फोनमा कुराकानी गराउन पनि सक्दिनँ ।’
सर्लाहीको रामनगर गाउँपालिकाको प्रमुखमा शिवपुजनका २२ वर्षे युवा छोराले प्रतिद्वन्द्वीलाई दोब्बर मतले पछारे । याे पालिकामा मतदाता १५ हजार ७ सय ९९ छन् ।
सम्भवत: राजाबाबु पालिका प्रमुख जित्ने अहिलेसम्मकै कान्छा हुन् । सर्लाहीकै कविलासी नगरपालिकामा २१ वर्षका ऋतिकराेशन यादवले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पालिका प्रमुखमा उम्मेदवारी दिने उनी सबैभन्दा कान्छा प्रतिस्पर्धी हुन्, ऋतिकराेशन । तर, उनले अन्य प्रतिस्पर्धीकाे तुलनामा नगन्य मत मात्र ल्याएकाले जित्ने सम्भावना छैन ।
शिवपुजनका अनुसार राजाबाबु भर्खर मात्र राजनीतिमा आएका हुन् । गत पुसमा भएको महाधिवेशनभन्दा केही समयअघि मात्र राजाबाबु माओवादीको औपचारिक सदस्य बनेका हुन् ।

त्यसघिसम्म राजाबाबु काठमाडौंमै कलेज पढ्थे । शिवपुजन पनि माओवादीबाटै सांसद चुनिएका हुन् ।
बीबीएको अन्तिम परीक्षा दिएर राजाबाबु सर्लाही फर्केका हुन् । ‘कुन कलेजमा पढ्छ, मलाई पनि याद छैन,’ शिवपुजनले भने, ‘ऊ फाइनल परीक्षा दिएर गाउँमा आएको हो । यहाँ आएपछि रामनगर गाउँपालिका कमिटीको सदस्यता लियो ।’ सदस्यता लिएलगत्तै राजाबाबुले पालिका अध्यक्षको टिकट पाएका हुन् । ‘छोरो भर्खर राजनीतिमा आए पनि म त धेरै अगाडिदेखि छु नि । घरको वातावरणले उसलाई राजनीतिमा ल्यायो होला,’ शिवपुजनले भने ।
राजाबाबुले सर्लाहीमा ७ कक्षासम्म पढेपछि बाँकी स्कुले पढाइ काठमाडौंबाट सकाए । सत्य साई स्कुलबाट एसएलसी दिएका हुन्, उनले । ‘सर्लाहीमा पनि ७ कक्षासम्म बोर्डिङमै पढ्यो । त्यसपछिचाहिँ काठमाडौं लगेको हो,’ उनले भने । पढाइमा समेत छोराले राम्रो गरेको उनले सुनाए ।
यो भेग विकासमा पछाडि रहेकाले छोराले गाउँको भलाइका लागि काम गर्ने छोराको तर्फबाट पिताले नै सुनाए । ‘छोरो विजय जुलुसमा हिँडिरहेको छ । उसले अब यस क्षेत्रको विकासका लागि नै काम गर्ने हो,’ शिवपुजनले छोराको तर्फबाट विकासका एजेन्डा सुनाए, ‘बाटोघाटो राम्रो छैन । किसानलाई बिउबीजन छैन । जनताका यस्तै कुरामा हेर्ने हो ।’
मुलुकका धेरै ठाउँमा गठबन्धनकारी सहयात्री रहेको नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दप्रसाद यादवलाई हराउँदै राजाबाबु सबैभन्दा कान्छो उमेरका पालिका प्रमुख बन्न सफल भएका हुन् । राजाबाबुले ४ हजार ८१ मत ल्याए भने कांग्रेसका हरिनन्द प्रसादले २ हजार ३ सय ९२ मत पाए । शिवपुजनका अनुसार राजाबाबुका प्रतिद्वन्द्वी हरिनन्द नातेदारभित्रकै हुन् । ‘हरिनन्द मेरो काकाको छोरो हो,’ उनले भने ।
रामनगरमा उपाध्यक्ष पनि माओवादी केन्द्रले नै जितेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १८:४१