काठमाडौंकी २५ वर्षीया युवतीको एक भिडियो हिजोदेखि सोसल मिडियामा भाइरल छ । ‘सुसी खान जाने हो’ नामकाे टिकटक अकाउन्टमा भिडियाे पाेस्ट गरी ती युवतीले आफूमाथि भएको यौन हिंसाको घटनाबारे बताएकी छन् । पछि @allaboutdewyskin इन्स्टाग्राममा पनि पोस्ट गरिएको भिडियोमा उनले मोडलिङ क्षेत्रमा प्रवेश गर्न खोज्दा ८ वर्षअगाडि आफू बलात्कृत भएको खुलाएकी छन्, जति बेला उनी मात्र १६ वर्षकी थिइन् । साैन्दर्य प्रतियोगितामा भाग लिएपछि आयोजक पक्षकै एक व्यक्तिले आफूलाई नशालु पदार्थ पिलाएर बलात्कार गरेको युवतीको भनाइ छ ।
यसपछि उनले आफूमाथि निरन्तर भएको अन्यायको फेहरिस्त र यसमा जोडिएका केही व्यक्तिबारेसमेत बोलेकी छन् । आफू बलात्कृत भएलगत्तै पूर्वमिस नेपाल माल्भिका सुब्बासित सहयोग माग्दा उनले उल्टै हकारेको युवतीले बताएकी छन् । आफूसँगै साैन्दर्य प्रतियोगितामा भाग लिएका उपाधिविजेता निशा पाठक र सेकेण्ड रनर अप अर्चना पन्थीले पनि आफ्नो चीत्कार नसुनेको युवतीको आरोप छ ।
दुई वर्षदेखि डिप्रेसनको औषधि खाइरहेकाे बताउने उनले हालै आत्महत्याको प्रयास गरेकी थिइन् । ८ वर्षदेखि दबाएर राखेका पीडा पाेखेर हल्का हुन डाक्टरले दिएकाे सुझावअनुसार नै आफूले मुख खोलेको युवतीले बताएकी छन् ।
०००
७-८ वर्षको उमेर हुँदै युवतीले ठूलो पर्दाका केही सिनेमामा अभिनय गरेकी थिइन् । युट्युबमा उपलब्ध पाहुना फिल्ममा उनी बालकलाकारकाे भूमिकामा थिइन् ।
सानैदेखि फिल्ममा रुचि भएकी युवती ठूली भएर हिरोइन बन्न चाहन्थिन् । २०७१ सालमा उनले काठमाडौंमा मिस ग्लोबल इन्टरनेसनलकाे चौथो शृंखला आयोजना हुँदै गरेको थाहा पाइन् । त्यो बेला उनी १६ वर्षकी थिइन् । प्रतियोगिता जिते मोडल भइने, त्यसपछि फिल्ममा मौका पाइने आशामा उनले भाग लिइन् । उनले मुख्य उपाधि नै त जित्न सकिनन् । तर, फर्स्ट रनरअप बनिन् । यति मात्र होइन, मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधिसँगै ६० हजार रुपैयाँ नगद पुरस्कार पनि जितिन् ।
मिस ग्लोबल इन्टरनेसनल- २०१४ प्रतियोगिता मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीले आयोजना गर्दै आएको थियो । कन्सल्टेन्सीका अध्यक्ष थिए मनोज पाण्डे, जसमाथि युवतीले आरोप लगाएकी छन् । भिडियाेमा युवतीले बताएअनुसार, पाँचौँ प्रतियाेगिता सफल भएको खुसीयालीमा नयाँ बानेश्वरको होटल एभरेस्टमा पार्टी राखिएकाे भन्दै आयोजक (युवतीले पाण्डे भनेकी छन्) ले उनलाई बाेलाए । उनी गइन् । त्यहाँ पुग्दा उनले पार्टीजस्तो देखिनन्, कोही थिएनन् ।
यसबारे सोध्दा ती व्यक्तिले ‘तिमी अलि छिट्टै आयौ, पार्टी साँझ ६-७ बजेदेखि सुरु हुन्छ भन्ने जवाफ दिए । पछि उनी प्रतीक्षामा बसिन् । उनले युवतीलाई लेमनएडका लागि अफर गरे । ‘यो वेलकम ड्रिंक हो भनेपछि मैले लेमनएड पिएँ’, भिडियोमा उनले भनेकी छन्, ‘१०-१५ मिनेटपछि मलाई एकदमै निन्द्रा लागेको महसुस भयो र घर जान्छु भनेँ ।’
तर, विजेता भएर पार्टीमा नदेखिँदा मिडियाले के सोच्छ, मान्छेले के भन्छन् भनेर ती व्यक्तिले उनलाई कर गरे । पिएपछि केटीहरूलाई यस्तै साह्रोगाह्रो पर्ला भनेर आफूले एउटा कोठा बुक गरेको भन्दै ती व्यक्तिले युवतीलाई कोठातिर जान भने । युवतीकै भनाइमा उनी अर्धचेतन अवस्थामा थिइन् । कोठामा सुतेको अवस्थामा आफू घरीघरी होसमा आउँदा आफूमाथि बलात्कार भइरहेको थाहा पाएको युवतीले बताइन् । ‘त्यो मेरा लागि निकै पीडादायी थियो । रगतले तन्ना भिजेको थियो’, उनले भनिन् ।
बिहान ४-५ बजेतिर उनी होसमा आइन् । आफूलाई निर्वस्त्र पाइन् । उनको छेउमा सुतेका ती व्यक्ति पनि नग्न थिए । युवती जोडजोडले रुन थालिन् । ‘त्यसपछि त्यो मान्छेले मलाई भन्यो- मैले तेरो ब्यागमा २० हजार रुपैयाँ हाल्देको छु । त्यो लिनू’, ती व्यक्तिले भनेका कुरा युवतीले भिडियाेमा भनेकी छन् । आफूमाथि विगतमा भएका घटना सुनाउँदा युवती भिडियाेमा बारम्बार भक्कानिएकी देखिन्छिन् ।
केही नग्न तस्वीर लिएका ती व्यक्तिले ‘कसैलाई भनिस् भने यो फोटो सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको युवतीले बताइन् । त्यसपछि ६ महिनासम्म यस्तै धम्की देखाएर ती व्यक्तिले बारम्बार बलात्कार गरेको उनले बताएकी छन् । यहाँसम्म कि, आफ्नै अगाडि आफ्नो साथीसँग पनि यौनसम्पर्क गर्न लगाएको युवतीको भनाइ छ ।
क्षमताले मोडल बन्ने सोचले प्रतियोगितामा भाग लिएकी युवती जीवनकै विषम समस्यामा परिन् । कसैलाई भनौँ, फोटो सार्वजनिक गरिदेला भन्ने डर । नभनौँ, आफूमाथिकाे अत्याचार उकालिएकाे उकालियै छ । उनी निरीहप्राय: बनिन् ।
हदै भएपछि एक दिन उनले सबै घटना खड्का थरका आफ्ना प्रेमीलाई सुनाइन् । र, पीडकविरुद्ध सँगै संघर्ष गर्ने हौसला पनि पाइन् । उनीहरू ती व्यक्तिले चलाउने कन्सल्टेन्सीमा गए । र, कन्सल्टेन्सीका सबै कर्मचारी र पीडक भनिएका ती व्यक्तिलाई एकैठाउँ राखेर उसले गरेका टेक्स्ट म्यासेज, फोन रेकर्डिङ सुनाए ।
'माल्भिकाले बेवास्ता गरिन्'
यही बेला युवतीले महिलाको हकहितकाे क्षेत्रमा सक्रिय पूर्वमिसनेपाल माल्भिका सुब्बालाई सम्झिइन् । र, फोन लगाइन् । अनि त्यो मान्छेले आफूमाथि गरेको ज्यादती सुनाइन् ।
‘म उसकै अफिसमा छु आउनुस्, मलाई सहयोग गर्नुस् भन्दाखेरि 'यो सबै तिमी मलाई किन भनिरहेकी छौ ? तिमी बलात्कृत भयौ, यो तिम्रो समस्या हो । यो मेरो समस्या होइन । यति भनेर माल्भिकाले फाेन काटिन्', युवतीले भनिन्, 'त्यो मान्छेले जसलाई म आफ्नो आइडल मान्थेँ ।’
पाँचौँ मिस ग्लोबल इन्टरनेसनल-२०१४ उपाधि विजेता निशा पाठक र सेकेन्ड रनर अप अर्चना पन्थीलाई सुनाए पनि उनीहरूले बेवास्ता गरेकाे बरू आफूलाई बलात्कार गर्ने व्यक्तिले आयोजना गरेको कार्यक्रममा केही दिनपछि देखिएको युवतीले सुनाइन् । 'आफूलाई महिलावादी भन्ने, जस्तो अवस्थामा पनि महिलालाई साथ दिन्छु भन्ने, आफूलाई आवाजविहीनको आवाज मान्नेले नै मेरो पीडामा आँखा चिम्लिए', आठ वर्षयता आफूले पाएका चोटको सूचीभित्र युवतीले अग्रज र सहकर्मीसँगका यस्ता गुनासोलाई पनि समावेश गरेकी छन् ।
कन्सल्टेन्सी पुगेका युवती र उनका प्रेमीले त्यो मान्छेसँग रहेका फोटोहरू डिलिट गराए । कन्सल्टेन्सीमा आफू पनि पुगेको बताउँदै त्यो बेला अनलाइन खबरका फोटो पत्रकार श्रीधर पौडेलले फेसबुकमा लेखेका छन्, 'पाण्डेको कन्सल्टेन्सीमा मान्छेहरू जम्मा भई होहल्ला भएपश्चात् त्यहाँ काम गर्ने एक जना भाइले मलाई बोलाएकोमा म त्यहाँ पुग्दा Allaboutdewyskin ले यौन दुर्व्यवहार भएको भनेपछि मैले पाण्डेलाई अब आइन्दा यस्तो दुर्व्यवहार गर्ने उद्देश्यले कुनै काम नगर्नू भनेर म हिँडेको हुँ । त्यसभन्दा बाहेक मेरो उनीसँग भेटघाट र कुरा भएको छैन', उनले फेसबुकमा पाेस्ट शेयर गरेका छन् ।
कन्सल्टेन्सीमा यति भएपछि थाेरै राहत महसुस गरेकी युवतीले पछि त्यही होटलको घटनालाई लिएर प्रेमीकाे वचनवाण खेप्नुपर्याे । कुनै बेला आफूलाई निकै प्रेम गर्ने युवकले त्यही घटनासँग जोडेर युवतीलाई बारम्बार होच्याउन, घृणित शब्द प्रयोग गर्न थाले ।
युवती एकपछि अर्को समस्यामा जाकिँदै गइन् । अन्ततः उनले खड्का थरका ती प्रेमीबाट टाढिने निधाे गरिन् । 'जतिबेला मलाई त्यस्ताे साथीको खाँचो थियो, जसले अँगालोमा बेरेर भनिदेओस्- तिम्रो साथमा म छु । तर, उसले मैमाथि आरोप लगाएर थप प्रताडित हुन छाेडिदियाे', युवती भक्कानिन्छिन् ।
पीडासरी दिनहरू जसोतसो गुज्रँदै थिए । यही अवधिमा आफू पढ्ने क्याम्पसकै तिवारी थरका युवक र युवतीबीच प्रेम भयाे । तर, उनले आफूमाथि विगतमा भएका ज्यादतीका घटनाचाहिँ लुकाइनन् । सार्वजनिक रूपमा नबोले पनि आफ्ना प्रेमीबाट भने नछिपाउने निधो उनले गरेकी थिइन् । पछि त्यही विगतलाई लिएर तिवारीले त उनलाई यातना नै दिन थाले । कलेजबाट एक प्राेजेक्ट वर्कका लागि कलेजले छानेका केटा साथीहरूसँग धुलिखेल जाँदासमेत तिवारीले पिछा गरी कुटपिट गरेकाे युवतीकाे बयान छ । 'तँ त्यहाँ भएका सबै केटासँग पालैपालाे सुत्छेस् अब, यस्ता शब्दहरूले तिवारीले मलाई गाली गरे । हामी बसेको रिसोर्टबाहिर आएका उनलाई मैले सम्झाइ बुझाइ गरेर फर्काइदिएँ', उनले भनिन् ।
प्राेजेक्ट वर्कमै गएका रिमाल थरका सहपाठीलाई उनले आफ्नो प्रेमीको हर्कतबारे सुनाइन् । रिमालले प्रेमीको टर्चरबाट मुक्त गर्न सहयाेग गर्ने वचन दिए ।
उसको अत्याचारबाट निस्कन उनले अर्का एक युवकको सहारा लिइन् । नजिकनजिकै मान्छेबाट हन्डर ठक्कर खाइरहेकी युवतीले रिमाललाई विश्वास गरिन् । नभन्दै रिमालको सहयोग पाएर उनी यातना दिने युवकबाट त मुक्त भइन् तर फेरि रिमालले नै उनीमाथि ज्यादती गर्न थाले । सन् २०१४ मा भएको एक घटनाले यसरी युवतीलाई चाटैचोटको भूमरीमा धकेल्दै लग्यो । अन्ततः उनले रिमालसँगको सम्बन्ध पनि तोड्न बाध्य भइन् ।
स्नातक तेस्रो सेमेस्टरतिर आफूले सबै पीडा भुलाउन नशा लिन थालेको युवतीले भिडियोमा बताएकी छन् । उनले अब निराशा बिर्सन गाँजाकाे खिल्ली नसल्काउने निधाे एक साताअघि मात्र गरिन् । तर, पुरानो घाउ यादका रूपमा फेरि बल्झिएपछि आफू सोसल मिडियामार्फत पीडाहरू पोख्न बाध्य भएको उनको भनाइ छ । मोडलिङ क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रमा यौन हिंसाका घटनाहरू हुने गरेको युवती बताउँछिन् । यति भनेर उनले स्नातक आठौँ सेमेस्टरमा समेत आफूले अन्य संस्थामा समेत यौन दुर्व्यवहार भोगेको सुनाइन् ।
त्यो बेला उनी तीनकुनेस्थित एसबी सोलुसनमा कन्टेन्ट राइटरका रूपमा काम गर्थिन् । एकपल्ट अफिसले सबै स्टाफलाई बिजनेस ट्रिपमा लगेको बेला आफूभन्दा सिनियर एक जनाले यौन दुर्व्यवहार गरेको उनी बताउँछिन् । 'साथीहरूको करकापमा मैले ड्रिंक गरेकी थिएँ । धेरै लागेर म उभिन नसक्ने भएँ । मलाई दुई जना केटाहरूले कोठासम्म छोडिदिए । केही बेरमै अफिसकाे त्यो केटाले आएर मेरो यौनांग चलाइरहेको थियो', उनले भनिन्, 'त्याे घटनासँग जाेडिएकाे भाेइस रेकर्ड अझै मसँग छ ।'
सहकर्मी र कार्यालयका हाकिमलाई घटनाबारे सुनाउँदासमेत पीडकलाई ननिकालेपछि उनी रोइकराइ गर्न बाध्य भइन् । अन्ततः अफिसले त्यो केटालाई बिदा त गर्याे तर ससम्मान । युवतीकै भाषामा जाे यसकाे लायक थिएन । यही घटनालाई लिएर अफिससँग चित्त नबुझेपछि जागिर छोड्ने निधो गर्दासमेत उनले धर पाइनन् । आफूलाई अनुभवको प्रमाणपत्र र तलब नै नदिई अफिसले बिदा गरेको उनले बताइन् ।
त्याे बेला युवतीका प्रेमी याेगी थरका युवक थिए । एसबी कन्सल्टेन्सीकाे घटनामा प्रेमीले समेत आफ्नो साथ नदिएको उनले बताइन् । '२०१४ मा पनि आफूले पुलिस केस गर्न खोज्दा मिस्टर खड्का (जाे उनका प्रेमी थिए) ले इज्जत जान्छ भन्दै राेक्याे', उनी भन्छिन्, 'एसबी सोलुसनको घटनामा योगी पनि पुलिस केस नगर, केटाको बिजोग हुन्छ भनेर मराे पक्षमा उभिएन ।'
आफू अन्यायमा परेका बेला साथ नदिएपछि उनले योगीसँग पनि सम्बन्ध अन्त्य गरिन् ।
पीडाबाट निस्कन उनले थुप्रै मनोपरामर्श केन्द्र धाइन् तर कतैबाट अपेक्षित उपचार पाइनन् । अन्ततः आफैँ मनोविज्ञान विषय चुनेर यसमै स्नातकोत्तर गरिरहेकी छन् । र, एक दिन नेपालकाे अब्बल साइकाे थेरापिस्ट हुने प्रण उनले गरेकी छन् । धेरै वर्ष भागेँ, धेरै भागेँ, अब भाग्दिनँ, बरू भिँड्छु,' उनले भनिन् ।
प्लिज आफ्नो मम्मीलाई साथमा लिएर जानुहोला
मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने युवतीहरूलाई उनी सुझाउँछिन्- 'म ८ वर्षअघि एक्लै जाने हुँदा त्यसको पीडा अहिलेसम्म भोगिरहेकी छु । मजस्तै मोडल बन्ने सपना लिएर आइरहेका बहिनीहरूलाई देख्दा उनीहरूमाथि कतै मेरैजस्तो घटना भइदिने पो हो कि भनेर डर लाग्छ । त्यसैले म अनुरोध गर्छु, कतै सुरक्षित छैन । प्लिज जता गए पनि आफ्नो मम्मीलाई साथमा लिएर जानुहोला ।'
माल्भिकाकाे आलाेचना
युवतीकाे भिडियाे भाइरल भएसँगै पूर्वमिस नेपाल माल्भिका सुब्बाकाे चर्काे आलोचना भइरहेको छ । फेसबुक, ट्विटर र इन्स्टाग्राममा उनलाई गालीको ओइरो छ । यहाँसम्म कि, फेसबुकका पुराना फोटोहरूमा समेत माल्भिकालाई गाली गरेर कमेन्टहरू आइरहेका छन् । पछिल्लाे समय महिलाकाे हकहितकाे पक्ष र महिला हिंसाविरुद्ध सक्रिय माल्भिका सन् २००२ की मिस नेपाल हुन् ।
इन्स्टाग्राममा उनले माल्भिकासितकाे एउटा च्याट कन्भरसेसन पाेस्ट गरेकी छन्, जहाँ युवतीसँग माल्भिकाले भनिकी छन्, 'त्यो बेला म यौन र बलात्कारसम्बन्धी विषयमा धेरै जानकारी थिएन । मैले त्यही बेला सोधखोज गरेर सहयोगको प्रयास गर्नुपर्थ्याे । अहिले पनि म सिकिरहेकी छु । आशा छ, तिमीले भोगेको त्यो दुःखका लागि मलाई माफ गर्नेछौ । धेरै माया ।'
जवाफमा युवतीले के यो १२ लाइनको नचाहिँदो बकवासले तपाईंकाे त्यो बेवास्तालाई न्याय गर्छ भनेर सोधेकी छन् । 'त्यो बेला तपाईं ३३ वर्षकी हुनुहुन्थ्याे । म जम्मा १६-१७ वर्षकी थिए । माल्भिका तपाईंले सहयोग गर्ने प्रयास नै गर्नुभएन ।'
माल्भिकाले मागिन् माफी
सामाजिक सञ्जालमा आफ्नो चर्को आलोचना भएपछि माल्भिकाले त्यो बेलाकाे आफ्नो मौनताप्रति माफी माग्दै इन्स्टाग्राममार्फत निकै लामो प्रस्टीकरण दिएकी छन् । यस्ता प्रतियोगिता, आयोजक र इभेन्ट्ससँगको सहकार्य तोड्ने घोषणा उनले गरेकी छन् । । साथै, युवतीको सहयोगका लागि तयार रहने पनि लेखेकी छन् ।
शृंखलाकाे साथ
पूर्वमिस नेपाल शृंखला खतिवडाले पनि युवतीलाई उनको पीडकविरुद्धको लडाइँमा साथ दिने वाचा गरेकी छन् । युवतीकाे आवाजले अन्य पीडितलाई समेत साहस मिल्ने शृंखलाले विश्वास व्यक्त गरेकी छन् । 'पीडकविरुद्धको संघर्षमा तिमी एक्ली छैनाै, हामी तिम्राे साथमा छाैँ ।'
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १५:११