कैलालीको धनगढी उपमहानगरपालिका ७ की छायाँ भण्डारी कक्षा ९ प्रवेश गरेकी छन् । त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत उनी भर्खरै नयाँ कक्षामा पुग्दा खुसी भए पनि पुस्तक नपाउँदा भने निरास छिन् ।
‘नयाँ किताब नपाउँदा पढ्न समस्या भएको छ,’ उनले भनिन्, पुरानै किताबबाट पढ्छौँ, कुनै–कुनै किताबको कोर्स नै परिवर्तन भएको छ भन्नुहुन्छ सरले । तर, नयाँ किताब कहिले पाउछौँ थाहा छैन । एक–दुई दिनमा किताब आउँछ भने पनि अहिले सम्म पुस्तक नपाएको गुनासो उनको छ ।
सरस्वति आधारभुत विद्यालयकी छात्रा आरोही पनि कक्षा ८ मा प्रवेश गरेकी छन् । नयाँ कक्षामा प्रवेश गरेकी उनले पुस्तक भने पुरानै पढ्ने गरेकी छिन् । ‘सर, मेडमहरूले पुरानै किताबाट पढाउनुहुन्छ', उनले भनिन्, 'नयाँ किताब आएको छैन भन्नुहुन्छ । कहिले आउँछ थाहा भएन ।'
सबै विद्यार्थीको हातमा नयाँ पुस्तक नपुग्दा समस्या भएको उनी बताउँछिन् । पढाइ सुरु भएको एक महिना पुग्नै लाग्दा समेत नयाँ किताब नपाएको विद्यार्थी बताउँछन् ।
सुदूरपश्चिममा विभिन्न जिल्लामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठको ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएकाे हाे । जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताएको छ ।
शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भए पनि किताब नहुँदा पठनपाठनमा समस्या भएको धनगढीको सरस्वति आधारभुत विद्यालयका प्राचार्य पदमराज जोशीले बताए ।
‘किताब नहुँदा पठनपाठनमा समस्या भएको छ, विद्यार्थीमा पनि कक्षाकोठामा बसेर पढ्ने उत्साह आएको छैन,’ उनले भने, ‘पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास त गरेका छौँ । तर विद्यार्थीसँग किताब नहुँदा सहजै पठनपाठनमा सरिक नहुँदा रहेछन् ।’
धनगढी फूलवारीको जनजागृति माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर पौडेलले पनि पुस्तक नहुँदा पठनपाठनमा समस्या भएको बताए । ‘पाठ्यपुस्तक नहुँदा नेटबाट डाउनलोड गरेर अलि–अलि काम चलाएका छौँ,’ उनले भने, ‘तर किताब छैन । स्कुल लागेको पनि आधा महिना भन्दा बढी भइसक्यो किताब आउँदैन ।’
अहिले सम्म कक्षा १ देखि ३ सम्मको किताब पाएको उनले बताए । कक्षा ४ देखि १० सम्मका किताब एउटा पनि नआएको उनले बताए । कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको उनले बताए ।
‘पुरानो पाठ्यपुस्तक छैन । अरुलाई त पुरानो पाठ्यपुस्तक दिएर पठाएका छौँ,’ उनले भने, ‘परिवर्तन भएको पुस्तक नेटबाट डाउनलोड गरेर काम चलाइरहेका छौँ । तर पाठयपुस्तक नहुँदा गाह्राे छ ।’
सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । प्रदेशका सात पहाडी जिल्लाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक पठाइसकिएको केन्द्रकाे दाबी छ ।
पहाडी सात जिल्लामा पुस्तक वितरण सकिएसँगै कैलाली र कञ्चनपुरका सरकारी विद्यालयमा पुस्तक वितरण कार्य सुरु भएको जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले बताए ।
कक्षा ४ मा ३० हजार, ७ को ४५ हजार र ९ को ३५ हजार भन्दा माथि पाठ्यपुस्तक आएको उनले बताए ।कक्षा ७ को १० हजार र ९ को १५ हजार पाठ्यपुस्तक आउन बाँकी रहेको उनको भनाइ छ ।
‘आउन बाँकी रहेको पाठ्यपुस्तक २/३ दिनमा आइपुग्छ,’ उनले भने, ‘जेठ मसान्तसम्म प्रदेशका सबै विद्यालयमा पुस्तक पुगाउने लक्ष्य छ ।’ हालसम्म ६० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको उनले बताए ।
स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा यो वर्ष केही ढिलाइ भएको केन्द्रकाे दाबी छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १०:०६