कुनै कुराको जति लामो पर्खाइ भयो, उति धेरै अपेक्षा बढ्छ । ‘दोख’ फिल्मसँग मेरा धेरै अपेक्षा थिए ।
यो विषयमा फिल्म बन्दैछ भन्ने थाहा पाएदेखि आएका पोस्टर, ट्रिजर र ट्रेलर सबैले कुतकुत्याएका थिए । श्रमण मुकारुङको शब्द र झुमा लिम्बूको स्वरमा बनेको ‘रातैले बुन्छ’ गीतले भित्रैबाट हल्लाएको थियो । नेपाली चलचित्र हेरेर तृप्त हुने रहर ‘दोख’ को पर्खाइसँगै झाँगिएको थियो । तर, त्यति अपेक्षासाथ पर्खिएको फिल्म हेरिसक्दा केही अपेक्षा पूरा भए । धेरै अधुरै रहे ।
०००
फिल्मको सुरुवाती ट्रिटमेन्टले अपेक्षा मेटाउने संकेत नगरेको हैन । नयाँ गाउँमा शिक्षक भएर आएको रोनित पात्र चौतारामा एक्लै बसेको छ । एकछिनमा ऊ एकजना बालकलाई देख्छ । बोल्न खोज्छ । तर, बालक ऊसँग बोल्दैन । उसको अनुहारमा नयाँ मान्छे देख्दाको संशय छ । ऊ दौडिएर हराउँछ । एकछिनमा केही मानिसहरू आउँछन् र उसको आँखामा पट्टी बाँधेर लिई जान्छन् । कोही नभएको दृश्यबाट झुरुप्प मान्छे भेटिन केही बेर नै लाग्दैन । सामान्य लागेको बालक पात्र सुराकी भएको पत्तो लाग्न समय नै लाग्दैन । सामान्य लागेको ठाउँ असामान्य हुन केही नै बेर लाग्दैन ।
यस्तो १० वर्ष चलेको युद्धको बेलामा थियो । त्यस बेला कति बेला के हुन्छ, कसैलाई थाहा थिएन । गाउँमा नयाँ मान्छे आउँदा सबैका आँखा चनाखो हुन्थे । त्यो बेला को कसका लागि काम गर्छ, केही पनि थाहा हुँदैनथ्यो । कसैसँग सिधा बोल्ने अवस्था थिएन । फिल्मले युद्धताकाको त्यस्तो संशयपूर्ण समयलाई समातेर यात्रा थाल्छ । रोनितलाई सोधपुछ गरिन्छ । शिक्षकको कामभन्दा ज्यादा पार्टीले चाहेको कुरा पढाउन भनिन्छ । ऊ स्कुलमा हाजिरी गर्छ । कक्षामा बाङ्गो बसेको ब्ल्याकबोर्डमार्फत जर्जर स्कुलको अवस्था देखाइन्छ ।
त्यसपछि फिल्म फुटबलमा पुग्छ । एक जना वृद्ध फुटबल हेर्न पुगेको रोनितलाई केही प्रश्न सोध्छन् । सामान्य चिनजान गर्दै गर्दा उनले सोधेका प्रश्नले उनको माओवादी विचारधारा प्रतिबिम्बित गर्छ । उनी सामान्य मान्छे मात्रै हैनन् भन्ने स्थापित गर्छ । त्यो कुरा रोनितलाई पनि शंका हुन्छ । तर, यसरी सुरु भएको कसिलो संशयको ग्राफ लामो समय अडिन पाउँदैन । गाउँ वनको विवादमा जान्छ । फुटबलबाट गाउँको झगडा सल्ट्याउने कुरा हुन्छ । झगडा सुरु हुने बेलासम्म सुन्दर तरिकाले बढिरहेको कथा र पात्र त्यहाँबाट धरखराउन थाल्छ । उपकथाहरू एकअर्कामा राम्रोसँग अडिन पाउँदैनन् । पात्रहरू एक अर्कासँगको सम्बन्ध र घर्षणसँग हुर्किन पाउँदैनन् । कुनै पात्र उठ्छन् । तिनले सुन्दर केही गर्छन् । तर, त्यसको निरन्तरता फिल्मका अघिल्ला दृश्यहरूमा छुटिजान्छ । कथाको द्वन्द्व कुनै ठूलो अप्ठ्यारोमा पर्दैन । यस्तो लाग्छ– त्यो द्वन्द्व फिल्ममा हुनु थियो । त्यसलाई कथाकार र निर्देशकले चाहेको जसरी देखाइनु थियो ।
माओवादी जनयुद्धको विशाल क्यानभासमा त्यतिका धेरै पात्र र कथालाई भन्ने मौका बनाएर पनि ‘दोख’ तिनलाई राम्रोसँग बुन्न नसकेर अल्झिन्छ । आफैँले सुरु गरेको कथाको आफ्नै धागोमा पटकपटक अल्झिएर गाँठो पर्छ । चरित्रको ग्राफ जोतेको ठाउँमा राँटो छुटेजसरी छुट्दै जान्छ । तर, त्यसबीचमा प्राविधिक रूपमा र निर्देशकीय रूपमा गरिएका केही कामहरूले भने प्रभाव छोडिरहन्छन् ।
०००
दोखमा फिल्मको भाषामा अटाउने धेरै माध्यमहरूको उपस्थिति बलियो छ । दृश्यहरूको फ्रेमिङमा सुन्दर काम भएको छ । कुनै पात्रको निर्माण बलियो लाग्छ ।
माओवादी जनयुद्धको विशाल क्यानभासमा त्यतिका धेरै पात्र र कथालाई भन्ने मौका बनाएर पनि ‘दोख’ तिनलाई राम्रोसँग बुन्न नसकेर अल्झिन्छ । आफैँले सुरु गरेको कथाको आफ्नै धागोमा पटकपटक अल्झिएर गाँठो पर्छ । चरित्रको ग्राफ जोतेको ठाउँमा राँटो छुटेजसरी छुट्दै जान्छ ।
कमरेड सङ्गीतको चरित्र निर्माण गर्दा उनको भाषालाई युद्धको मार्गसँग कोरिएको छ । माओवादी जनयुद्ध नेपालको पश्चिम भू–भागबाट सुरु भएर पूर्व आएको हो । त्यो क्रममा धेरै पश्चिमका कमाण्डर पूर्वमा हुने आफैँमा सांकेतिक हो । यसरी हेर्दा यो ऐतिहासिक घटनाक्रमलाई कमरेड सङ्गीतको उपस्थितिले समेट्छ । ऊ पश्चिमी लवज बोल्छ । बेलाबेला पूर्वेली लवज मिसिए पनि त्यो भाषागत मिसावट उसको चरित्रलाई सुहाउँछ । त्यो चरित्रको घरी सरल र घरी कठोर लाग्ने भिन्नभिन्न सेडलाई सुरज मल्लले उत्कृष्ट बनाएका छन् ।
संगीत चरित्रले बोकेको क्रान्तिकारी विचार ऊ भएको दृश्यको कम्पोजिसनसँग मिल्छ । ऊ आफ्नो वैचारिक पक्षका बारेमा कसैसँग तर्क गर्छ र निर्णायक भएर कुनै निर्णय गर्छ, धेरैजसो समय फ्रेमको देब्रेतिर देखिन्छ । विशेष गरी वनको विषयमा निर्णय गर्दा तथा रोनित र रुक्कीलाई कारबाही गर्ने बेलामा संवादहरू बोल्दा ऊ धेरैजसो समय देब्रेतिर छ । अर्को दृश्यमा पनि यस्तै कम्पोजिसनलाई ध्वनिसहित प्रयोग गरिएको छ । माओवादीले गाउँको अध्यक्ष घनश्याम गुरुङलाई निकाला गर्ने समयमा रोनितको चरित्र आफ्नो कोठामा हुन्छ । बाहिर नारा लगाइएको सुन्छ । 'माओवादी जिन्दावाद' भन्दै लगाइएको नारा उसको देब्रेतिरबाट नै आउँछ । ऊ आवाज आएतिर फर्किन्छ, हेर्छ । त्यसपछि मात्र दृश्य नारा लगाइएको ठाउँमा कट हुन्छ ।
यस्तै, दिया मास्केले निभाएको रुक्की चरित्र तथा अन्य चरित्रहरूलाई देखाउँदा फ्रेमको बीचमा देखाइएको छ । मुख्य गरी छोरीलाई स्कुल लिएर गइरहेको एउटा दृश्यमा उनी छोरीसहित बीचमा छिन् । उनीहरू युद्धको त्यो समयमा बीचमा परेका मानिसहरू हुन् भन्ने देखाउन पनि यसको प्रयोग भएको छ । तर, यसरी फिल्मको विषयलाई फिल्मको भाषासँग उन्ने प्रयास भएका छन् । तर, तिनको निरन्तरता भने सबै ठाउँमा हुन सक्दैन ।

अर्को देखिनलायक काम प्रोडक्सन डिजाइनमा पनि भएको छ । भित्तामा राखिएका फोटोहरूले पनि सजीव पात्रहरूले जसरी कथा वाचनमा सघाएका छन् । अध्यक्ष घनश्यामको परिवार सैनिक ब्याकग्राउन्डको हो भन्ने कुरा उनको भित्तामा राखिएका फोटोहरूबाट देखिन्छ । रुक्कीका श्रीमान्को चरित्र पनि लामो समय उसको कोठाको फोटोमा नै देखिन्छ । उनीहरूबीचको सम्बन्ध भन्ने अनि पछि आउन सक्ने पात्रलाई स्थापित गर्नेबाहेक फोटोलाई खिचिएका ती सटहरूले त्यो समयमा कति धेरै मानिसहरू फोटोमा सीमित भएका थिए भन्ने पनि जनाउँछ । धेरै जना बितेर फोटोमा सीमित भए । धेरै गाउँ आउँदा हुने डरका कारण फोटोमा सीमित भए । धेरै पात्रहरूले फोटो हेरेर नै मन बुझाए । कोठामा टाँसिएका ती फोटो र त्योसँगै चरित्र आउने गरी खिचिएका दृश्यले पात्रको मनोदशा तथा कुण्ठालाई पनि प्रतिबिम्बित गर्छ ।
यस्तै, गाउँमा कुनै समस्या हुँदा कमाण्डरकहाँ जाने कुराले पनि फिल्मले देखाउन खोजेको समयको गहिरो अर्थ बोक्छ । युद्धताका माओवादीहरू गाउँको पद्धतिमा कति निर्णायक तहमा पुगिसकेका थिए र त्यहाँ राज्यको उपस्थिति कति न्यून थियो भन्ने पनि यसले देखाउँछ । त्यसको प्रभाव बालबालिकामा पनि परेको थियो । धेरै बालबालिकाहरू आफूले देखिरहने कमान्डरहरूको जीवनशैलीबाट प्रभावित हुन्थे । त्यो कुरा एक जना बालक र आफ्नो छोरा मारेको घटनापछि अर्धभूमिगत रूपमा माओवादीमा सक्रिय रहेका वृद्धसँग भएको संवादले पनि पुष्टि गर्छ । वृद्ध उक्त बालकलाई माओवादीमा लाग्न प्रेरित गरिरहेका हुन्छन् । बालकले कमाण्डरको जस्तो चस्मा लगाउन पाउँछु भनेर सोध्छ । वृद्ध उसको जस्तो घडी पनि लगाउन पाउँछस् भन्छन् ।
‘रातैले बुन्छ’ गीत आएको बेलामा रुक्कीको चरित्रले एक्लै आफूलाई नियालेको र मेकअप गरेको कुराले उनीभित्र उम्रिएको प्रेमको अंकुरणलाई प्रतिबिम्बित गर्छ । रोनितले एउटा दृश्यमा छोरीलाई प्रशंसा गर्ने मौकामा आफूलाई पनि प्रशंसा गरेको प्रसङ्ग अनि उनले रोनितका लागि रक्सी राखिदिएको प्रसङ्गले प्रेमिल उचाइ त्यो दृश्यमा प्राप्त गर्छ । कसैले प्रेमले छुन नपाएको आफ्नो शरीरलाई उनी नियाल्छिन् । तर, त्यति बेला पनि उनले गलाबाट पोते निकालेकी छैनन् । त्यो दृश्यले उनको एक्लोपन अनि फुत्त निस्किएर जान नपाउने बाध्यता दुवैलाई समाउँछ ।
०००
तर, फिल्म टुक्राटुक्रामा बलियो भएर पनि समग्रमा कसिलो हुन नसक्ने समस्याबाट भने उम्किएको छैन । फिल्ममा हुने घटनाहरू घट्ने कारणहरू स्पष्ट नहुँदा धेरै ठाउँमा फिल्म खुकुलो लाग्छ । अनि एकैपल्टमा धेरै कुरा भन्न सकिने भए पनि ती कुराहरूको क्रमिक विकासलाई लामो समय समात्न नसक्दा भएका धेरै कुराहरू किन भए वा नभएको भए के हुन्थ्यो भन्ने ठाउँमा अनेकौँ प्रश्न उठाउने ठाउँ बनिदिन्छन् ।
चरित्रहरूको उपस्थिति स्वाभाविक भए पनि तिनको ब्याक स्टोरी फिल्ममा पुग्ने गरी आउँदैन । कुनै बेलामा फिल्मले बनाएको सम्पूर्ण आधार नै कमजोर हुने गरी प्रश्न गर्ने ठाउँ पनि आउँछ ।
जस्तो कि जुन उद्देश्य लिएर गोप्य मिसन बनाएर गाउँमा शिक्षक गएको छ, त्यो गाउँ त्यसरी मिसन बनाएर नै जानुपर्ने गरी रणनीतिक महत्त्वको किन छ, त्यो फिल्ममा खुल्दैन । जसको कारणले गर्दा रोनितको चरित्रको गाउँ जाने मुख्य उद्देश्य नै कमजोर बन्छ ।
यदि त्यो ठाउँ त्यति महत्त्वपूर्ण थियो भने किन कमरेड सङ्गीतको वरपर मात्र घुम्यो भन्ने कुरा पनि खुल्दैन । उसले यत्तिकै दुई गाउँको बीचमा फुटबल हुने कुरा भनिदिन्छ । तर, उसले फुटबल खेल गराउने कुरा उसको झ्वाँक थियो कि त्यसको अरू पनि केही कारण थियो, खुल्दैन । फुटबल खेल्ने कुरा र यसलाई कथाको माध्यम बनाउने कुराले सबैभन्दा धेरै आधार र प्रमाण खोज्थ्यो । फिल्मले त्यो दिँदैन । त्यो नहुँदा फुटबलको प्रसंग कथाले मागेको भन्दा पनि कथाकार र निर्देशकले चाहेको जस्तो बनिदिन्छ । फुटबल खेल र त्यहाँका गतिविधि अन्तिममा सेनाले आक्रमण गर्ने ठाउँ मात्र बनाइएजस्तो भइदिन्छ ।
यो कुरा कमजोर हुँदा फुटबलको नतिजाले दुई गाउँलाई नै पार्ने प्रभावको आयाम कमजोर बन्छ । एक त जुन वनका लागि फुटबल हुन लागेको हो, त्यो वन अध्यक्षको निजी हो । उसका लागि अरूले फुटबल किन खेल्ने ? खेलको पाटोलाई बलियो गरी विषयसँग नफिटिएका कारण फिल्म हेरुञ्जेल खेल के होला र निर्णय के होला भन्ने हुटहुटी पनि चल्दैन । न त्यसको तयारी गर्दैगर्दा कुनै चरित्रको फुटबलप्रतिको लगावको कारण खुल्छ, न फुटबलको कारण देखिने गरी कुनै चरित्रबीच नयाँ तहको सम्बन्ध नै बन्छ । फिल्ममा फुटबल नभएको भए के फरक पर्ने थियो भन्ने जवाफ फिल्मभित्र छैन ।
खेल आयोजना हुँदाको प्रसङ्गमा पनि माओवादी पक्षबाट बनाइने गरेको सुरक्षा घेरा कमजोर छ । एउटा बालकलाई मान्छे हेर्न लगाएर कार्यक्रम भएको देखाइएको छ । तर, त्यो बेला त्यति सहज सुरक्षा घेरामा उनीहरू कुनै कार्यक्रममा सहभागी हुँदैनथे । सूचनाका लागि उनीहरूको कम्तीमा पनि तीन घेराको सुरक्षा हुन्थ्यो । यदि त्यसमा मिहिनेत गरेको भए त्यसलाई तोड्न रोनित पात्र कसरी सफल हुन्छ भन्ने कुरा अझै रोचक बन्न सक्थ्यो ।
फुटबल सिक्ने चरणमा नै हुँदा फुटबल ग्राउन्डमा एक युवकसँग झगडा परेपछि रोनित पात्रले उसलाई पछार्छ । त्यो बेला उसको शारीरिक फिट्नेस देखिन्छ । आफ्नो फिट्नेस देखिएपछि उनीहरूले मिलिटरीको मान्छे हो भनेर शङ्का गर्छन् कि भनेर ऊ डर मान्छ पनि । तर, आफ्नो भूमिका चिप्लिन्छ कि भन्ने डर उसलाई लामो समय फिल्ममा लाग्दैन ।
यसभन्दा अगाडि बनेका फिल्महरूले गर्न नसकेका केही पाटोको उजागर गरी केही हिसाबमा विषयगत नवीनता ल्याए पनि कथालाई बलियो गरी समात्न अनि चरित्र र घटनालाई उपयुक्त ग्रोथ दिन सकिने धेरै ठाउँमा ‘दोख’ चुकेको छ । त्यो समय र त्यहाँका चरित्रलाई नयाँ उचाइ दिनबाट चुकेको छ ।
ऊ र रुक्कीबीचमा शारीरिक सम्पर्क भएको भनेर हल्ला चलाएको युवक उनीहरूले कुटाइ खाएको हेरिरहन्छ । त्यति बेला उसको अनुहारमा आफूले गरेको कामका कारण उनीहरूले दुःख पाएको दोष देखिन्छ । तर, त्यसले उसलाई कसरी परिवर्तन गर्छ र ऊ र रोनितको सम्बन्धले के के कुरा खोल्छ भन्नेतिर नगई फिल्म एकैपल्ट रोनित उसलाई क्याप्टेन बनाउनुपर्छ भन्ने प्रसङ्गमा पुग्छ । उनीहरूबीचको सम्बन्धको ग्राफलाई केही समय आफैँ हुर्किन दिएको भए थोरै भए पनि फुटबल खेलमा रोचकता आउने थियो ।
फिल्मको एउटा संवादमा आफू भएर मात्र तिमीहरू गाउँमा जोगिइरहेको भन्दै अध्यक्ष घनश्याम युवकहरूलाई गाली गर्छन् । त्यतिका धेरै युवकहरू माओवादीले लैजाने संशयबिना नै गाउँमा कसरी बसेछन् भन्ने कुराको जवाफ त्यो संवादमा छ । सँगै उनी आफ्नो ठूलाठूला कमान्डरहरूसँग सम्पर्क भएको पनि बताउँछन् । तर, सङ्गीतले गरेको फुटबलको निर्णयविरुद्ध उनी कुनै पनि तरिकाले लागेको जस्तो देखिँदैन । हचुवाको भरमा गरिएको त्यो निर्णय मान्नैपर्छ भन्ने अवस्था पनि स्वाभाविक नै भइजान्छ । अझ उनी आफैँ फुटबल खेल्ने तयारीमा गइहाल्छन् । यदि उनकै कारण युवकहरू गाउँमा जोगिएका हुन् भने उनलाई निकाला गरेपछि आफूहरूलाई माओवादीले लैजाने त्रास युवकहरूमा पनि देखिँदैन ।

गाउँमा सुराकीको काम गर्ने वृद्ध पात्र सेना आएको बेलामा ट्वाइलेटमा लुकेको देखाइएको छ । तर, उनले अरू बेला सामान्य मान्छे भएर जसरी भूमिमा निर्वाह गरेका छन् उनी ट्वाइलेटमा लुक्ने गरिको जोखिममा थिए र भन्ने प्रश्न उब्जिन्छ । त्यो दृश्य सुन्दर भएर पनि त्यसको आवश्यकता पुष्टि भइहाल्दैन । यस्तै, श्रीमान् पर्खिरहेकी रुक्कीको चरित्रको पनि एक्लै छोरी हुर्काउने धेरै पाटोको खोजी सतही छ । उनको चरित्रले एक्लै घर चलाउँदाका व्यावहारिक र आर्थिक पाटो खासै खुल्दैन । त्यसैले उनले पारेको रक्सी माओवादीले फ्याँकेको दृश्यले दिनुपर्नेजति झङ्कार दिँदैन । उनी बेलाबेला त केटाहरूलाई जिस्क्याउने माध्यम बनाउन राखिएजस्तो मात्र लाग्छिन् ।
०००
यसभन्दा अगाडि बनेका फिल्महरूले गर्न नसकेका केही पाटोको उजागर गरी केही हिसाबमा विषयगत नवीनता ल्याए पनि कथालाई बलियो गरी समात्न अनि चरित्र र घटनालाई उपयुक्त ग्रोथ दिन सकिने धेरै ठाउँमा ‘दोख’ चुकेको छ । त्यो समय र त्यहाँका चरित्रलाई नयाँ उचाइ दिनबाट ‘दोख’ चुकेको छ । कथावाचन र चरित्र विकासमा राँटो छोडेका कारण जनयुद्धलाई नयाँ कोण र नयाँ पात्रबाट स्थापित गराउन ‘दोख’ असफल छ ।
कुनै कुराको जति लामो पर्खाइ भयो उति धेरै अपेक्षा बढ्छ । ‘दोख’ फिल्मसँग मेरा धेरै अपेक्षा थिए । तर, त्यति अपेक्षासाथ पर्खिएको फिल्म हेरिसक्दा केही अपेक्षा पूरा भएका छन् । धेरै अधुरै छन् ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ ०८:१७