बाजुराको खप्तड छेडेदह गाउँपालिका-१, लुगेनाकी जलुदेवीको उद्धार गरिएकाे छ । अन्दाजी ५० वर्षीया जलुदेवी बुढा एक छोरासहित दुई वर्षदेखि ओडारमा बस्दै आएको खबर सार्वजनिक भएपछि गाउँपालिकाले उद्धार गरेकाे हाे ।
स्थानीय भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बिहे गरेका थिए । जलुदेवीका तीन छोरा छन् । जेठा छोरा राेजगारीकाे सिलसिलामा भारत गएका छन् । १४ वर्षीय माइला छोरा बुवासँग घरमै बस्दै आएका छन् । ९ वर्षीय कान्छा छोरा मीनसँग जलुदेवी ओडारमा बस्दै आएकी थिइन् ।

पानी घट्टबाट सङ्कलन गरेर ल्याएको पिठोको खोले पकाएर उनले आफ्नाे र छोराको पेट भर्दै आएकी थिइन् । खानेकुरा र लत्ताकपडाको समेत उनीसँग अभाव थियो । ओडारमा उनी जङ्गली जनावरको खतरामा पनि थिइन् ।
उनलाई यी सबै समस्याबारे बाहिर निकालेर गाउँपालिकाले नै हेरचाह गर्ने खप्तड छेडे दह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले बताए । खप्तड छेडे दह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन् । तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी वडा कार्यालयमा जान तयार भएकी हुन् । वडा अध्यक्ष रावलकै पहमा उनलाई उद्धार गर्न सहज भएको हो ।
ओडारमा जङ्गली जनावरलगायतबाट असुरक्षा हुने हुँदा उनलाई गाउँपालिकाकै वडा कार्यालयमै राखिएको वडा अध्यक्ष रावलले बताए । ‘उनको मानसिक अवस्था पनि खासै ठीक छैन, सानो बच्चासहित बसेकी उनको अब सबै जिम्मा गाउँपालिकाले नै लिने छ’, वडा अध्यक्ष रावलले भने । गाउँपालिकाले अबदेखि जलुको औषधि, खाना र बस्नको व्यवस्था मिलाउने वडा अध्यक्ष रावलले बताए ।

त्यहाँबाट उद्धार गरेर परिवारको जिम्मा लगाउँदा पनि फेरि ओडारमा जाने गरेको भेटिएपछि अहिले वडा कार्यालयमै राखिएको रावलकाे भनाइ छ । ‘पटक/पटक उद्धार गरेर परिवारको जिम्मा लगाएका थियौँ तर उनी फेरि ओडारमै जाने गरेको पाइयो’, वडा अध्यक्ष रावलले भने, ‘शुक्रबार ओडारबाट उद्धार गरेर वडा कार्यालयमा ल्याएका छौँ । उनलाई खाना बस्नलाई व्यवस्था मिलाइएको छ । एक जनाले उनलाई अहिले सुरक्षा दिइरहेका छन् । एक/दुई दिन उनलाई वडा कार्यालयमै राख्छौँ । त्यसपछि वडा कार्यालयमै राख्ने कि अन्तै व्यवस्था मिलाउन सकिन्छ भन्नेबारे छलफल गर्ने छाैँ ।'
वडाअध्यक्ष रावलका अनुसार श्रीमानसँग दैनिकजसाे झगडा हुन थालेपछि जलुदेवी ओडारमा बस्न थालेकी थिइन् । पछि श्रीमानले घर लैजान खोज्दा पनि उनी मानिनन् । जेठी श्रीमतीसँग मिल्ती नभएको र आफूसँग कहिलेकाहीँ झगडा पर्ने गरेकाले जलुदेवी घर जान नमानेकाे दाबी श्रीमान् भानेले गरे ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ ०८:४६