सुदूरपश्चिमको जनजीवनमा एउटा प्रचलित उखान छ, ‘मरूँला भनेर विष खानू, बाँचूँला भनेर ओल्के खानू ।’ साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिम प्रदेशमा ‘ओल्के त्यार’ (पर्व) धुमधाम साथ मनाइरहँदा दार्चुलामा भएको जिप दुर्घटनामा परी एकै गाउँका पाँच जनाको मृत्यु भएको छ ।
जिपमा सवार एकै गाउँका ६ जना भारत जान भनी हिँडेका थिए । तर, दुर्भाग्यवशसँगै हिँडेका ६ मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भयो । बझाङको बुङ्गल नगरपालिकाका एउटै गाउँका पाँच जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
जोखिमपूर्ण सडकमार्गबाट भारत जान हिडेँका उनीहरू अब कहिल्यै नफर्किने गरी गएका छन् । मृत्तकहरूमध्ये चार जना कामको खोजीमा हिँडेका थिए भने एक महिला उपचारका लागि आफ्नो श्रीमान्को साथमा भारतको पिथौरागढ हिँडेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको बुंगल नगरपालिका– ८ का अन्दाजी ५० वर्षीय हिक्मत जाग्री, ५५ वर्षीय पुने बोहरा, ५० वर्षीय उज्जले बोहरा, ५५ वर्षीया चम्पा बोहरा र अन्दाजी ६० वर्षीय रैभान बोहरा छन् । चम्पा र रैभान श्रीमान्/श्रीमती हुन् । उनीहरू दुई जना उपचारका लागि भारतको पिथौरागढ गइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले शिलापत्रलाई जानकारी दिए । अन्य भने रोजगारीका लागि गएको बुझिएको छ ।
दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका– ७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका– ८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले जानकारी दिए ।
घाइते ९ जनामध्ये चार जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेहरूमा प्रदीप, गोमती, रूपा र सुमन सिंह छन् । अन्य घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी गहामगरले बताए ।
‘दुर्घटनामा मृत्यु भएकाहरूका आफन्त पुगिसकेका छन्, अहिले किरिया खर्चबापतको रकम उपलब्ध गराएपछि उनीहरूले शव बुझ्न सहमत भएका छन्’, उनले भने । मृतकको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ । भोलि पोस्टमार्टमको काम सकिएपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने उनले बताए ।
गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका–६, उल्लानीमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो । वर्षाका कारण क्षतिग्रस्त सडकमा अनियन्त्रित भएर जिप खसेको अनुमान गरिएको छ ।
ओल्के मनाउन घर आएका उनीहरू दसैँतिहार खर्च जुटाउन बिहानै भारततर्फ लागेका थिए । भारतका सीमावर्ती शहरहरूमा दैनिक मजदुरी गरेर यहाँका विपन्न परिवारले आफ्नो दैनिक खर्च टार्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ १६:२५