२०६४ सालयताका सबै चुनावमा चन्द्र भण्डारी र प्रदीप ज्ञवाली एकआपसमा चुनावी प्रतिद्वन्द्वी रहेका छन् । २०५६ सालको चुनामा तत्कालीन गुल्मी क्षेत्र नम्बर २ बाट प्रदीप ज्ञवालीले कांग्रेस उम्मेदवार चन्द्र केसीलाई पराजित गरेका थिए । त्यसयताका २०६४, २०७०, २०७४ र २०७९ मा एमालेको तर्फबाट ज्ञवाली र कांग्रेसको तर्फबाट भण्डारी उम्मेदवार बनेका छन् ।
ज्ञवाली लगातार पाँचौँपटक एउटै क्षेत्रबाट निर्वाचन लड्दै गर्दा भण्डारी लगातार चौथोपटक सोही क्षेत्रमा निर्वाचन लडेका छन् ।
भौगोलिक हिसाबले वल्लोपल्लो गाउँको प्रतिनिधित्व गर्ने यी दुई नेता एकआपसमा कटु आलोचना गरेको भने सुनिएको छैन । एकले चुनाव जित्दा अर्कोले खादा ओढाएर सम्मान गर्ने परिपाटीसमेत यो क्षेत्रमा देखिएको छ ।
२०७० को निर्वाचनमा ज्ञवालीले हार्दा भण्डारीलाई खादा ओढाएर शुभकामना दिएका थिए । २०७४ को निर्वाचनमा भण्डारीले हार्दा ज्ञवालीलाई अबिर र खादाले सम्मान गरेका थिए । यस हिसाबले पनि यो निर्वाचन क्षेत्र उदाहरणीय निर्वाचन क्षेत्र हो ।
अर्को चाख लाग्दो विषय त के छ भने यस क्षेत्रमा मतदाताले यी दुई नेतालाई पालैपालो जिताएका छन् । २०६४ सालमा ज्ञवालीले चुनाव जिते, भण्डारीले हारे । २०७० मा भण्डारीले चुनाव जिते, ज्ञवालीले हारे । २०७४ मा फेरि ज्ञवालीले जिते भण्डारीले हारे ।
२०७४ मा ज्ञवालीले वाम गठबन्धनको बलमा चुनाव जितेका थिए । २०७९ मा भण्डारीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
१५ वर्षयता ज्ञवाली र भण्डारी एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका छन् । स्थानीय तह निर्वाचनमा गुल्मी- १ का रेसुङगा नगरपालिकाका १ देखि ६ नम्बर वडासहित सातवटा नगरपालिकामध्ये तीनवटामा कांग्रेस, दुईवटामा माओवादी र दुईवटामा माओवादी केन्द्र विजयी भएको छ ।
यस क्षेत्रमा ४८ वटा वडामध्ये एमालेले २३ वटा वडा जितेको छ भने कांग्रेसले २१ र माओवादी केन्द्रले तीनवटा वडा जितेको छ । वडाअध्यक्ष जितको परिणामलाई हेर्ने हो भने सत्ता गठबन्धन एमालेले भन्दा एउटा वडा मात्रै बढी कांग्रेसले जितेको देखिन्छ । वडा अध्यक्षलाई आएको मतका आधारमा भने एमालेको तुलनामा जम्मा ३ हजार बढी मत कांग्रेसको देखिन्छ ।
के हुन् दुर्लभ र सवल पक्ष, के हुन् जित्ने आधार ?
ज्ञवालीमाथि सदावहार आरोप छ– जिल्ला वा क्षेत्रमा न्यून उपस्थिति । पार्टीमा बढी सक्रिय रहने । उनलाई पार्टीइतरले मात्रै नभई पार्टी पङ्क्तिका कार्यकर्ताको आरोप पनि उस्तै छ ।
सवल पक्षका रूपमा हेर्दा उनलाई बौद्धिक नेताको रूपमा चिनिन्छ । आश्वासन दिने काम नगर्ने प्रवृत्ति आफ्नो नरहेको ज्ञवालीको तर्क छ । पृष्ठभूमिमा बसेर काम गर्ने तर प्रचारमा नलाग्ने भएकाले आफ्नो उपस्थिति कम देखाउने गरेको ज्ञवालीले बताएका छन् ।
भण्डारीले आफ्नो जिल्ला र क्षेत्रमा निकै स्रकिय रूपमा लाग्ने गरेको प्रशंसा बटुल्दै आएका छन् । प्रदेश राजधानी सार्नु हुँदैन भन्ने पक्षमा र लुम्बिनी नटुक्र्याउने विषयमा अग्रपङ्क्तिमा बसेर आन्दोलनको नेतृत्व गरेको जस पनि उनैले पाएका छन् । तर, विपक्षी नेताहरूको नजरमा भने उनी प्रचार गर्नमा सिपालु नेता हुन् ।
भण्डारीको अहिले निर्वाचन जित्ने आधारमा आफू चुनाव हार्दा पनि जिल्लाको काममा निरन्तर लागेको, २०७९ को स्थानीय तहको निर्वाचनमा मत बढेको जिल्लाको विकासमा केन्द्रित भएको र प्रतिनिधिसभा विघटनको पक्षमा जनता नदेखिँदा प्रतिद्वन्द्वी ज्ञवाली त्यसको पक्षमा खुलेर लागेका कारण जनताले आफूलाई रुचाएको दाबी गरेका छन् ।
ज्ञवाली भने देशभर चुनावी परिणाम अपेक्षित रूपमा एमालेको पक्षमा नदेखिए पनि स्थानीय तहको निर्वाचनमा आफ्नो क्षेत्रमा राम्रो नतिजा निकालेको जस लिएका छन् । वडाअध्यक्ष जितका आधारमा गुल्मी १ मा पहिलो पार्टी बनेको र जिल्लाको विकासमा आफूले महत्त्वपूर्ण भूमिका खेलेका कारण पनि आफूले चुनाव जित्ने आधार ज्ञवालीले देखाएका छन् ।
कांग्रेस उम्मेदवार भण्डारीले व्याप्त भ्रष्टाचार अन्त्य गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउन प्रतिनिधिसभामा आफूलाई खरो रूपमा प्रस्तुत गर्ने बताए । उनले गुल्मीका जनताले एमालेको विकल्पका रूपमा नेपाली कांग्रेस तथा पाँचदलीय गठबन्धनलाई रोज्ने विश्वास व्यक्त गरे ।
उनले नयाँ पुस्तामा मुलुक परिवर्तनको तीव्र आकांक्षा रहेको र अब केवल भाषणमा मात्र राजनीति गरेर नपुग्ने बताउँदै आफूले नयाँ पुस्ताको भावनाअनुसार काम गर्ने बताए ।
एमाले उम्मेदवार ज्ञवालीले विगतमा जस्तै आफूलाई त्यहाँका जनताले रुचाउने विश्वास व्यक्त गरे । उनले आफ्नो जित जिल्लाको विकासको आधार भएको समेत बताएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १४:२८