कमेडियन अपूर्व क्षितिजका बुबा जयशंकर सिँह यतिबेला बिरामी छन् । छोरा पुनः हिरातमा परेपछि छुटाउने प्रयासमा एक्लै लागेका उनी थाकिसके । ‘यो काठमाडौँमा मैले चिनेको कोही छैन । हाम्रा लागि बोलिदिने पनि कोही छैन । निकै अपहेलित भइयो, छोरा छुटाउन सकिनँ । हामीमाथि अन्याय भयो,’ बुबा जयशंकर भन्छन् ।
अपूर्वले स्ट्याण्ड कमेडी गर्दा नेवार समुदायमाथि व्यङ्ग्य गरेको भिडियो युट्युवमा अपलोड गरेका थिए । नेवार समुदायको आत्मसम्मानमा चोट पुगेकाे भन्दै चौतर्फी आलोचना भएपछि युट्युवबाट भिडियो हटाएर उनले माफीसमेत मागे ।
माफी माग्दा पनि नेवाः अभियन्ताले मुद्दा दायर गरेपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको १० दिनपछि उनलाई कोभिड भएको भन्दै २२ भदौमा साधारण तारेखमा प्रहरीले छाड्यो ।
‘कोभिड ठिक भयो, अब फेरि टेकु आउनुपर्याे भनेर प्रहरीले फोन गर्याे । फेरि पक्राउ गर्छ भन्ने त लागेको थिएन मलाई । तर फेरि हिरासतमा लियो,’ बुबा जयशंकर भन्छन् ।
अपूर्वलाई ३१ असोजमा पुनः पक्राउ गरेपछि प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलकोे कार्यालयले जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरेको छ ।
छोरामाथि प्रहरीले अन्याय गरेकाले आफ्नो परिवार शोकमा रहेको बुबा जयशंकरले बताए । ‘यही कारण बुबाको स्थिति झन् खराब छ । आमाको स्थिति पनि चिन्ताले नाजुक बनाएको छ । म पनि बिरामी परेको छु । छोरालाई मानसिक रुपमा आघात परेको छ,’ जयशंकरले भने, ‘यसअघि छुटेपछि छोरा एक्लै बस्ने, कहिल्यै नहाँस्ने, झस्किने भएको थियो । कमेडी गरिरहने मान्छे कहिल्यै नहाँस्ने बनिसकेको थियो ।’
घटनापछि उनी सर्लाहीबाट काठमाडौँ आएका थिए । बुबा जयशंकरका अनुसार अपूर्वलाई मुद्दा हाल्नेसँग उनीहरू ४ पटक बसे । कयौँपटक माफी मागे । ‘बिहान ७ बजेदेखि साँझसम्म माफी मागेर बसियो । मिलाउन भनेर राजी हुन्थे । फेरि साँझ एक जना कोही आएर विथोलिदिन्थ्यो,’ जयशंकर भन्छन् ।
उनका अनुसार अपूर्वले भिडियो हटाएर माफी मागे पनि फेरि भिडियो युट्युवमा अरु कसैले अपलोड गरेर दबाब दिन थाल्यो । टेकु परिसरमा प्रहरीले पनि नराम्रो व्यवहार गरेको जयशंकर बताउँछन् । ‘पटक पटक बयान लिएर टाइप गर्ने । फेरि त्यो डिलिट गरेर अरु के के लेख्ने । आफ्नो बयान आफैँ पढ्छु भन्दा पढ्न नदिने गरे,’ जयशंकरले दुखेसो पोखे ।
अपूर्वविरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा नेवाः अभियन्ताले मुद्दा दायर गरेका थिए ।
कलाकारहरू भन्छन्- अपूर्वमाथि अत्याचार गरियो
कलाकार हरिवंश आचार्यले माफी मागिसकेपछि पनि हिरासतमा लिनु अपूर्वमाथि अन्याय भएको बताए । ‘अपूर्व क्षितिजले माफी मागिसक्नुुभयो । माफी मागिसकेपछि माफी दिनुपर्छ । नमागेको भए एउटा कुरा हो । माफी माग्नुभन्दा दिने व्यक्ति महान हो नि,’ हरिवंशले भने ।
हास्य कलाकार मनोज गजुरेल पनि प्रहरीले मध्यस्ताता गर्नुपर्ने ठाउँमा ज्यादती गरिरहेको बताए । ‘उनले नियतबस गरेको गल्ती हैन । हाम्रो महान संस्कृति सभ्यताले क्षमा दिन योग्य गल्तीलाई क्षमा दिन्छ । यो अपराध हैन । गल्ती हो । कानुनले आफ्नो हिसाबमा व्याख्या गर्ला । त्यसमा क्षमा गरे पनि क्षमा दिन लायकको गल्ती थियो । सामाजिक हिसाबले निर्क्यौल गर्नुर्थ्यो ,’ मनोज भन्छन् ।
फिल्म निर्देशक मनोज पण्डितले अपूर्वमाथि गरेको ज्यादतीको प्रवृत्तिविरुद्ध नीति बनाउनुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘राज्यले कलाकार /श्रष्टाहरूलाई गर्ने हेपाहा व्यवहारको एक पीडित म पनि हुँ । अपूर्वमाथि गरिएको व्यवहार त्यही प्रवृत्तिको निरन्तरता हो । यो प्रवृत्तिलाई रोक्न स्पष्ट नीति बनाउनु आवश्यक भसकेको छ । मेरो भूमिका यसमा हुनेछ ।’
नागरिक अगुवा भन्छन्- कानुनको दुरुपयोग भयो
लेखक तथा नागरिक अगुवा नारायण वाग्लेले बुधबार एउटा फेसबुक स्टाटस लेखेका थिए, ‘व्यंग्य कलाकार अपूर्व सिंह फेरि थुनामा पर्नु हाम्रो सहिष्णु सामाजिक स्वभावमाथि ठूलो ब्यंग्य !’
वाग्ले दुरुपयोग हुन सक्ने कस्तो कानुन बनाइएको रहेछ भनेर प्रश्न गर्छन् । ‘प्रहरीले जुनसुकै बेला पनि दुरुपयोग गर्न सक्ने रैछ । जसको आत्मसम्माा चोट पुगेको छ । उसलाई माफी मागेपछि सकिन्थ्यो । सचेत हुन्थे । तर कानुनको दुरुपयोग गरेर अपूर्वमाथि अन्याय गरिनु गलत हो,’ वाग्ले भन्छन् ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी राज्यले यो निर्दयी काम गरेको बताउँछन् ।
संवैधानिक आँखाबाट हेर्दा अपूर्वमाथि अन्याय गरिएको र मानवअधिकार हनन भएको उनको तर्क छ । ‘उहाँले नेवार समुदायको आत्मसम्मनमा चोट परेको भिडियो अपलोड गर्नुभयो । त्यो हटाएर माफी पनि मागिसक्नुभएको छ । तर जे गरियो यो निर्दयी कुरा भयो । मुद्दा लगाउने कुरा अन्यायपूर्ण भयो,’ राधेश्याम भन्छन् ।
कवि अभय श्रेष्ठले पनि अपूर्वलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । उनले अपूर्वविरुद्ध दिइएका सबै जाहेरी र मुद्दा फिर्ता लिएर उदार हृदयको परिचय दिन नेवाः अभियन्तालाई अनुरोध गरेका छन् ।
उनले बिहीबार फेसबुक स्टाटसमार्फत् लेखेका छन्, ‘स्टयान्ड-अप कमेडियन अपूर्व क्षितिजको प्रस्तुति स्तरहीन र जातीय अपमान गर्ने दृष्टिले असभ्य थियो । तर उनले युटुबबाट भिडियो हटाई माफी मागिसकेको र त्यस्तो गल्ती नदोहोर्याएको स्थितिमा मुद्दा लगाएर थुनाउन खोज्नु उचित होइन । उनलाई फेरि पक्राउ गर्नु त अति हो । नेवाः समुदाय आफ्नो भाषा, संस्कृतिमा गर्व गर्छन् तर सहिष्णु र उदार हृदयका छन् भन्ने सन्देश जानु जरुरी छ । हाम्रो प्रयास क्षितिजहरूलाई 'कुनै पनि समुदायको अपमान गर्नु कला होइन' भन्ने तत्त्वबोध गराउनु मात्र हुनु पर्छ ...।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जातीय भावना/सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण अपूर्व प्रकरण रहेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन् । अपूर्व क्षितिजले माफी मागी सके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती ! अति नगरौँ । समाज यसरी विग्रियो भने त्यसको रापमा हामी/हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै ।’
नेवा अभियन्ता भन्छन्- थुनिएपछि अपूर्व सुध्रन्छन्
नेवाः अभियन्ता सुमन सायमी भने अपूर्व हिरासतमा थुनिएर महान भएको र उनीबाट अरुले पाठ सिक्ने बताउँछन् ।
यसरी अपूर्व पक्राउ पर्नु भनेको समाजमा सन्देश जानु रहेको उनी बताउँछन् । ‘उनी हिरासत परेर निस्कनु भनेको उनका बा आमाले छोरा सुध्रियो भन्नु हो, अरुले अब यस्तो काम नगर्नु हो,’ सायमीको भनाइ छ ।
उनी आफू व्यक्तिगत रुपमा अपूर्वलाई मुद्दा हाल्न नहुने मतमा रहेको बताउँछन् ।
‘वाक स्वतन्त्रताको नाममा नेवार समुदायको भावनामा खेलेको हो । तर मेरो मात्र व्यक्तिगत निर्णयले हुने होइन । समुदायको सामूहिक निर्णयले उनीमाथि मुद्दा हालिएको हो । मैले नैतिक समर्थन त गर्नुपर्याे ,’ सायमी भन्छन्, ‘तर मुद्दा हालेपछि कानुनी प्रक्रिया त पूरा गर्नुपरिहाल्छ ।’
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १६:५७