मंसिर ४ को चुनावका लागि प्रतिनिधिसभाको एक मात्रै सिट रहेको दार्चुलामा उम्मेदवारहरू घरदैलो कार्यक्रममा छन् । भौगोलिक हिसाबले कठिन जिल्ला दार्चुलामा चुनावी प्रचारप्रसार गर्नसमेत कठिन छ । जिल्लाका अधिकांश गाउँमा अझै यातायातका साधन पुगेका छैनन् ।
जसका कारण उम्मेदवारहरू हप्तौँ लगाएर प्रत्येक गाउँ पुग्नुपर्ने बाध्यता छ । यसपालि प्रतिनिधिसभा सदस्यका लागि पाँचदलीय गठबन्धनको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र एमालेका तर्फबाट पूर्वसंघीय तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना चुनावी मैदानमा उत्रिएका छन् ।
दुवै नेता चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् । यी दुई प्रतिस्पर्धीबीचको रोचक संयोग के छ भने हालसम्म बडूले लगातार दुईपटक जित्न सकेका छैनन् । ठगुन्नाले पहिलो जितपछि हारेका छैनन् । अहिले गठबन्धनको बलमा बडू जित निकाल्न चाहन्छन् भने ठगुन्ना जितको ह्याट्रिक गर्न चाहन्छन् । बडू २०४८ सालमा पहिलोपटक आमनिर्वाचनबाट सांसदमा विजयी भए ।
तर, २०५१ मा दिवंगत एमाले नेता प्रेमसिंह धामीले पराजित गरे । २०४८ सालदेखि नै कांग्रेसको जिल्लामा एकछत्र राज जमाएका बडूले फेरि २०५६ मा एमालेका उम्मेदवार वीरबहादुर ठगुन्नालाई पराजित गर्दै केन्द्रीय राजनीतिमा कम ब्याक गरे ।
तर, २०६४ को पहिलो संविधानसभा चुनावमा भने माओवादीका लक्ष्मणदत्त जोशीले पराजित गरे । त्याे बेला जोशीसँग पराजित भएकाे तितो यथार्थ मात्रै छैन बडूसँँग । उनलाई माओवादी कार्यकर्ताले चुनावको प्रचार प्रसारका क्रममा दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथमा सांघातिक हमला गरेका थिए । उक्त घटनामा बडू बालबाल बाँचेर फर्किका थिए । बडूलाई त्यो बेला नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।
उनको शरीरका विभिन्न भागमा चोट लाग्याे । चुनावकाे मुखमा अस्पताल बसेर बडू घर फर्किए । २०६४ पछि बडू प्रत्यक्ष चुनाव जितेर संसद् प्रवेश गर्न सकेका छैनन् । त्यसपछि दोस्रोपल्ट २०७० मा भएको संविधानसभाको चुनावमा एमाले नेता गणेश ठगुन्नाले उनलाई पराजित गरे । २०७४ को चुनावमा भने उनी समानुपातिकबाट संसद् प्रवेश गरेका हुन् ।
तर, याेपटककाे संयोग भने २०६४ सालमा बडूमाथि सांघातिक आक्रमण गर्ने माओवादी पार्टीकै बलमा उनी प्रतिनिधिसभाको सदस्यको चुनावमा होमिएका छन् । ठगुन्ना र बडू दुवै नेताको पहुँच केन्द्रीय राजनीतिमा राम्रो छ ।
स्थानीय तहको चुनावको परिणामलाई हेर्दा कांग्रेस कमजोर अवस्थामा छ । जिल्लामा भएका ९ पालिकामै कांग्रेसले जित निकाल्न सकेन । जिल्लाका दुवै नगरपालिका महाकाली र शैल्यशिखर नगर प्रमुखमा एमाले विजयी भएको छ ।
त्यस्तै, अन्य तीन गाउँपालिका दुहुँ, ब्यास र मालिकार्जुनमा समेत एमाले विजयी भएको थियो । बाँकी चार पालिका प्रमुख माओवादी केन्द्रले जितेको छ । लेकम, अपी हिमाल, नौगाड र मार्मा गाउँपालिका प्रमुखमा माओवादीले जितेको छ । नौवटा पालिकाका ६१ वडामध्ये ३४ एमालेले जितेको छ । स्थानीय तहमा समेत कांग्रेस माओवादीबीच गठबन्धन थियो ।
कांग्रेस र माओवादीका तर्फबाट २७ वटा वडामा जित हात पारेको छ । स्थानीय तहको परिणामलाई हेर्दा गठबन्धनभन्दा एमाले बलियो छ । यद्यपि दुवै पक्षले आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ ०६:२९