मधेस प्रदेश छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई विभागीय कारबाही हुने भएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या बाहिनीपतिको कमजोर सुरक्षा कमाण्डका कारण घटना घटेको पाइएपछि उनीमाथि कारबाही सिफारिस गरिएको हो ।
असई हत्या प्रकरणबारे छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी बलका कार्यविभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्त्वमा तीन सदस्यीय समिति नै गठन गरेको थियो । सोही समितिले डीआईजी गणेश ठाडा मगरलाई कारबाही गर्न सिफारिस गरेको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।
डीआईजी मगरसहित समितिले छिन्नमस्ता बीओपीका निमित्त प्रमुख सई कृष्णबहादुर मगरलाई कारबाही सिफारिस गरेको थियो । सोही प्रतिवेदनको आधारमा सशस्त्र प्रहरी बलको मुख्यालयले सई कृष्णबहादुर मगरलाई भने निलम्बन गरेको छ । मगरलाई १४ कात्तिकदेखि लागू हुने गरी निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी नियमावली अनुसार सशस्त्र प्रहरी अधिकारीलाई एक तहमाथिका अधिकारीले कारबाही गर्न सक्ने व्यवस्था छ । सो घटनापछि राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति एसपी प्रदीप खड्कासमेत तानिएका थिए । उनको ठाउँमा हाल एसपी तीर्थ पौडेललाई खटाइएको छ ।
असई यादवको २० असोजमा हत्या भएको थियो । उनको शव नेपाल–भारत सीमा क्षेत्रको भारततर्फ बिहारको मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो । हत्या भएको आशंकामा अनुसन्धान थालेको सप्तरी प्रहरीले यादवको हत्या तस्करहरूसँगको मिलेमतोमा सशस्त्र प्रहरी बलकै जवान होमबहादुर खत्रीसमेतको संलग्नता देखिएको थियो । खत्री हाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बाहिनीपति गणेश मगरकै कमजोर सुरक्षा कमाण्डका कारण सीमा सुरक्षा र सीमा तस्करी नियन्त्रण बाहिर पुगेको गुनासो केही सशस्त्र प्रहरी अधिकारीकै छ । यसअघि सशस्त्र प्रहरी बलकै जवानहरू हतियार तस्करीमा लागेको अनुसन्धानमा खुलेको थियो ।
डीआईजी गणेश ठाडा मगरको निर्देशनमा खटिएका चार जना सादा पोशाकका सशस्त्रका कर्मचारीमाथि जिल्ला अदालत बाराले पक्राउ पुर्जी नै जारी गरेको थियो । हतियारसहित बारा प्रहरीले भारतीय नागरिक लालबाबु कुसवाहलाई पक्राउ गरेपछि सशस्त्र प्रहरी बलका सादा पोसाकका जवानहरू सुनिल यादव, आत्माराम राउत र अशोक सोनारसहित तस्करीमा चार जना सिपाही संलग्न रहेको खुलेको थियो ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाहेक अन्य बाहिनी तथा युनिटहरूले सादा पोशाकका सुरक्षाकर्मी खटाउन नपाइने व्यवस्था छ । तर, डीआईजी मगरले प्रधान कार्यालयको निर्देनशबिनै आफैँले सादा पोशाकमा सशस्त्र प्रहरी बलका सिपाही खटाउने गरेका छन् ।
बुधबारमात्रै सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी जवान घनश्याम चौधरीले घाँटी रेटेर आत्महत्या प्रयास गरे । मधेस प्रदेशमा माथिल्लो अधिकारीले जुनियर सशस्त्र जवानलाई अनावश्यक दु:ख दिने गरेको गुनासो छ । सोही कारण चौधरीले आत्महत्या प्रयास गरेको अनुमान सशस्त्र प्रहरी मुख्यालयको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १३:२८