नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका अबको पाँच वर्ष २८ वर्षे दीपेन्द्र सुनारी मगरले हाँक्नेछन् । मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर दीपेन्द्र नेपाली कांग्रेसका निवर्तमान मेयर शशीकिरण बस्ताकोटीलाई १ सय ५१ मतले पराजित गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
याे चुनावमा अहिलेसम्म निर्वाचित पालिका प्रमुखमा कम उमेरमा चुनिने दीपेन्द्र दाेस्राे हुन् । सर्लाहीकाे रामनगर गाउँपालिकामा २२ वर्षे राजाबाबु यादवले जितेका छन् ।
एमालेबाट उठेका दीपेन्द्रले ४ हजार ५९ मत पाए भने उनका प्रतिद्वन्द्वी बस्ताकोटीले ३ हजार ९ सय मत कटाउन सकेनन् । बुलिङटारमा कांग्रेसलाई हराएर दीपेन्द्रले इतिहास रचेका छन् । याे क्षेत्रमा अहिलेसम्म कांग्रेसले हारेकाे थिएन ।
२०५४ सालमा दीपेन्द्रका बा शेरबहादुर सुनारी मगरलाई गाविस अध्यक्षमा कांग्रेसकै उम्मेदवारले हराएका थिए । ०७४ को चुनावमा वडा नम्बर १ को अध्यक्ष लडेका शेरबहादुर फेरि कांग्रेसकै दिलबहादुर सूर्यवंशीसँग हारे । त्यो बेला आफ्ना बालाई जिताउन दीपेन्द्र पनि खटेका थिए । तर सकेनन् । बा हारेपछि पढाइमै फर्केका उनी छात्रवृत्तिमा मेकानिकल इन्जिनियरिङ पढ्न चीन गए । दुई वर्षपछि पढाइ सकेर फर्किए । र, जागिर खान थाले । वर्षदिनअघि मात्र गाउँमै बस्ने गरी फर्केका दीपेन्द्रले २५ वर्षदेखि आफ्ना बाले हात पार्न नसकेको सफलता चुमेका छन् । उनी शेरबहादुरका दुई छोरामध्ये जेठा हुन् ।
‘बुलिङटारका कांग्रेसीसँगको संघर्षमा अन्ततः जित हाम्रै पक्षमा आयो । अझ युवा नेतृत्व पाउनु गाउँपालिकाका लागि सुनौलो अवसर हो । यो जित गाउँवासीको हितमा होस्’, आफ्ना ७१ वर्षे बाले भनेका कुरा सुनाउँदै दीपेन्द्रले भने ।
तर उनका अगाडि चुनौतीचाहिँ कम छैन । जम्मा ६ वटा वडा भएको गाउँपालिकामा उपाध्यक्षसहित पाँचवटै वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । वडा नम्बर ५ र अध्यक्ष मात्रै एमालेले जितेकाे हाे ।दीपेन्द्रको गृहवडामा नाताले जेठान पर्ने कांग्रेसकै ४७ वर्षीय दिलबहादुर सूर्यवंशी दोहोरिएका छन्, जसले ०७४ मा दीपेन्द्रका बालाई हराएका थिए । यी सबैसँग समन्वय गरेर उनले गाउँपालिका हाँक्नुपर्नेछ ।
०७२ देखि एमाले राजनीतिमा सक्रिय भएर लागेको बताउने उनी गाउँपालिका अध्यक्षको टिकट लिन गाह्रो नपरेको दाबी गर्छन् । आफूले केन्द्रीय नेताहरूलाई गाउँ विकासको भिजन सुनाएको र त्यही सुनेर पार्टीले विश्वास गरेकाे उनको भनाइ छ । गाउँपालिका अध्यक्षका लागि दीपेन्द्रसहित एमालेबाट सात जनाकाे नाम सिफारिस भएकाे थियाे । नवलपुर जिल्ला इञ्चार्ज तिलक महत, सहइञ्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेललगायतलाई आफूले कन्भिन्स गरेको दीपेन्द्र बताउँछन् । जनतालाई ठूला र महत्त्वाकाङ्क्षी नभएर आँगन, दलानका समस्याबाट मुक्त गर्ने योजनामा सबैभन्दा पहिला आफूले काम गर्ने उनले सुनाए ।
दीपेन्द्रकै गृहवडामा अध्यक्ष जितेका कांग्रेसका दिलबहादुर सूर्यवंशीले गाउँपालिकाले युवा नेतृत्व पाएकाले राम्रा काम गर्न सहज हुने अपेक्षा गरे । 'उनी त मेराे फुपू ज्वाइँ पनि हुन् । गाउँ विकास र जनताकाे हितका लागि हुने काममा मिलेर काम गर्नुकाे विकल्प छैन', सूर्यवंशीले भने ।
बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीसित गरिएकाे संक्षिप्त कुराकानीः
तपाईं त पेसाले इन्जिनियर, राजनीतिमा कसरी आउनुभयो ?
म राजनीतिक परिवारमा जन्मेँ, हुर्कें । गाउँमा मेरा बा एमालेका पुराना नेता हुनुहुन्छ । पारिवारिक पृष्ठभूमिले मलाई राजनीतिमा आउन केही प्रेरित गर्याे । यसबाहेक म आफूले आर्जन गरेका ज्ञानसीपको आफ्नै गाउँका लागि प्रयोग गर्न चाहन्छु । जागिरे भएर मात्र धेरै काम गर्न नसकिने रहेछ । त्यसैले गाउँको नेतृत्वमा रहेर नवीन र दिर्घकालीन योजनाहरूमा काम गर्ने सोच राखेर म राजनीतिमा आएको हुँ ।
२५ वर्षदेखि तपाईंको बालाई हराउँदै आएको कांग्रेससँग आफूले जित्छुजस्तो लागेको थियो ?
म जित्छु भन्नेमा विश्वस्त थिएँ ।
के आधारमा तपाईंलाई जित्छु भन्ने लागेको थियो ?
बुलिङटारमा कांग्रेसको शासन बितेका पाँच वर्ष मात्र होइन, २५-३० वर्षदेखिको हो । तर, गाउँको विकास खोइ ? जनताको अवस्थामा सुधार खोइ ? पारदर्शिता खोइ ? नयाँ र दिर्घकालीन योजनाका काम खोइ ? जनता वाक्कदिक्क छन् । त्यसमाथि मैले प्रत्येक वडाका, प्रत्येक घरमा पुगेर व्यक्ति-व्यक्तिसँग कुरा गरेँ । उहाँहरूको मनोभावना बुझेँ । एज होइन एजेण्डा हेर्नुपर्छ भनेँ । मेरो भिजन सुनाएँ । पछि मलाई उहाँहरूले अघि बढ्न प्रोत्साहन गर्नुभयो । अब आफैँले उठाएको उम्मेदवारलाई आफैँले कसरी हराउनुहोला भनेर म जित्नेमा ढुक्क थिएँ ।
तपाईंले जनतालाई सुनाएको भिजन के थियो ?
हाम्रोजस्तो गाउँमा पूरा नै गर्न कठिन हुने योजना मैले सुनाएको छैन । मेरो पहिलो प्राथमिकता भनेको कृषिलाई व्यावसायिक बनाउने र शिक्षालाई व्यावहारमुखी बनाउने हो । मेरो पढाइ र यसअघिको जागिर अनुभव ऊर्जाक्षेत्रमा हो । यसको सम्भावनालाई यथार्थमा परिणत गर्ने सपना छ । मैले जनतामाझ भनेको छु, गाउँपालिकाका सबै काम पारदर्शी बनाउनेछु । एकरति बेइमानी गर्नेछैन । सडक, खानेपानीलगायत जनताका आधारभूत आवश्यकतामाथि कुनै पनि बहानामा ढिलासुस्ती हुन दिने छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १९:०५